निर्माण कम्पनीका वहाना धेरै, काम कम
कैलाली र कञ्चनपुरका दर्जनभन्दा बढी पुल अलपत्र
कान्द्रा नदीमा अधुरो छोडिएको पुल । जुन निर्माण सुरु भएको ९ वर्ष पुगेको छ । तस्बिर : कैलाश जोशी/फरकधार

हुलाकी राजमार्ग अन्तर्गत कैलालीको भजनी नगरपालिका–३ स्थित कान्द्रा नदीमा निर्माणाधीन पुलको प्रगति निराशाजनक छ । पुल निर्माण सुरु भएको ९ वर्ष बितेको छ । तर, पुल भने बन्न सकेको छैन । पुलको पिल्लर राख्ने कामबाहेक केही पनि अगाडि बढ्न सकेको छैन । पुल नबन्दा भजनी नगरपालिकाको वडा नम्बर ५ र ७ का स्थानीय र नगरपालिकाबीचको सम्पर्क सम्बन्ध वर्षातको समयमा टुट्ने गरेको छ । आवतजावतका लागि डुङ्गाको भर पर्नुपर्ने स्थानीयको बाध्यता छ ।

हुलाकी राजमार्ग आयोजनाको कार्यालय धनगढीका अनुसार सो कान्द्रा नदीमा पुल निर्माणका लागि २०६८ जेठ ३१ गते ठेक्का सम्झौता भएको थियो । साढे २ वर्षमा निर्माण सम्पन्न गर्न सम्झौता गरेको लामा साल्पा शर्मा बिरुवा कम्पनीले ९ वर्षको अवधिमा ५५ प्रतिशत मात्रै प्रगति गरेको आयोजनाको योजना कार्यालय धनगढीका सूचना अधिकारी पदम मडैले जानकारी दिए । ४ करोड ४२ लाख ठेक्का सम्झौता रकम रहेको पुलको पछिल्लो निर्माण अवधि २०७७ माघसम्म थप भएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका–७ स्थित शिवगंगा नदीमा निर्माणाधीन पुल पप्पु एड्भेन्चर प्रालिले अलपत्र पारेको छ । २०७४ सालमा ३ वर्षभित्रै पुल निर्माण गर्ने सम्झौताअनुसार जेठ मसान्तमा पुल निर्माण गरिसक्नुपर्ने म्याद समाप्त भएको छ तर निर्धारित समयमा ४५ प्रतिशत प्रगति गरेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीको बदमासीले पछाडि धकेलिँदै गएको पुलको काम अब भने सरकारी पक्षकै कारण पछाडि धकेलिने भएको छ । सो पुलको साविक डिजाइन परिवर्तन गर्नुपर्ने भएको डिभिजन कार्यालयले जनाएको छ । नयाँ डिजाइनअनुसार निर्माण हुने र नयाँ डिजाइन अझै स्वीकृत भएर नआएकाले केही ढिलो हुन सक्ने सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अर्जुनकुमार बमको भनाइ छ । सो पुलको सुरू सम्झौता रकम १४ करोड २६ लाख ८८ हजार रहेको छ ।

टेन्डर हत्याउन हरेक हतकण्डा अपनाउन पछि नपर्ने एडभेन्चरले कैलालीको पथरैया पुल पनि अलपत्र पारेको छ । कैलालीको लम्कीचुहा नगरपालिकास्थित पथरैया नदीमा निर्माणाधीन पुललाई अलपत्र पारेको छ ।

सम्झौता अनुसार एड्भेन्चर प्रालिले पुल सम्पन्न गर्नुपर्ने निर्धारित मितिमा ४० प्रतिशतमा मात्रै सीमित पारेको छ । निर्धारित समयमा बेस मात्रै बनाएर छोडेको पुललाई निर्माण कम्पनीले १ वर्ष म्याद थप गर्दा समेत सम्पन्न गर्न नसकेको सडक डिभिजन कार्यालयको सूचना अधिकारी एवं इन्जिनियर लक्ष्मणदत्त जोशीले बताए । 



उनका अनुसार एड्भेन्चर कन्स्ट्रक्सन कम्पनीको नाममा ठेकेदार चन्द्र शेखर मल्लले सो पुल निर्माणका लागि २०७४ जेठमा २ वर्षभित्रै काम सम्पन्न गर्ने गरी ७ करोड ३८ लाख २५ हजारमा ठेक्का सम्झौता गरेका थिए तर २ वर्षको अवधिमा पुलको काम जम्मा २० प्रतिशतमा सीमित भयो ।

जेठ मसान्तपछि पुल निर्माणका लागि दोस्रो पटकको म्याद समेत सकिएको छ । तर पुल निर्माण भने हुन नसकेको इन्जिनियर जोशीले बताए । ‘अहिले आएर ठेकेदारले लकडाउनलाई बहाना बनाएर पुल निर्माण गर्न नसकेको प्रतिक्रिया दिन थालेको छ,’ इन्जिनियर जोशीले भने ।



धनगढीबाट राजघाट जोड्ने मोहना नदीको पुल निर्माण सुरु भएको छ वर्ष हुँदा पनि अझै काम पूरा भएको छैन । धनगढी उप–महानगरपालिका वडा नम्बर ३ चटकपुरबाट कञ्चनपुरको राजघाट जोड्ने मोहना नदीको पुल ६ वर्षसम्म निर्माण पूरा नभएको हो ।

तीन वर्षमा निर्माण सक्नेगरी २०७१ असारमा ठेक्का सम्झौता भएको थियो । तर ६ वर्षको अवधिमा ८० प्रतिशत काम सकिएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण प्रत्येक वर्ष राजघाट क्षेत्रका नागरिक जोखिम मोलेर धनगढी आउन बाध्य छन् ।

सडक डिभिजन कार्यालय कञ्चनपुरले तीन वर्षमा काम सम्पन्न गर्ने गरी २०७१ असारमा एलाइट एड्भेन्चर जेभीसँग ठेक्का सम्झौता गरेको थियो । १२० मिटर लम्बाइको पुल सम्झौताको थप तीन वर्ष सकिँदा समेत अधुरै रहेको हो । निर्माण कम्पनीले तोकिएको समयमा काम पूर्ण नगरेपछि तीन पटक समय थपिएको छ ।

तेस्रो पटक समय थप गर्दा पनि भौतिक प्रगति ८० प्रतिशत मात्रै पुगेको छ । उक्त पुल निर्माणका लागि ७ करोड ४२ लाखमा सम्झौता भएको थियो । तर, पुल निर्माणको सम्झौता भएको ६ वर्ष हुँदा पनि काम नसकिएपछि राजघाट क्षेत्रका स्थानीयलाई धनगढी ओहोर–दोहार गर्न भने सास्ती हुने गरेको छ ।

स्थानीय लोकराज ओझाले वर्षातको समयमा नदीबाट धनगढी जान समस्या हुने गरेको बताए । ‘राजघाटको बजार धनगढी हो । औषधि उपचारका लागि पनि धनगढी जान्छौं । एम्बुलेन्स पनि नदीबाट जाँदैन । अत्तरिया हुँदै धनगढी जानुपर्ने हुन्छ’, उनले भने ।

चालु आर्थिक वर्ष २०७७ को माघसम्म पुल निर्माणको समय अवधि रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । 

यी केही उदाहरण मात्रै हुन् । कैलाली र कञ्चनपुर जिल्लामा ३३ वटा ठूला पुलहरू निर्माणाधीन अवस्थामा रहेका छन् । गत आव २०७६ सालमा १२ वटा पुल मात्रै निर्माण सम्पन्न भएका थिए ।

कान्द्रा नदीको पुलबाहेक सबै पुलहरू सडक डिभिजन कार्यालयमार्फत् निर्माण भइरहेका छन् । तर, हालसम्म कुुनै पनि पुल सुरुको निर्धारित समयावधिमा बन्न सकेका छैनन् ।

हाल आएर पटक–पटक म्याद थप भएर पनि काम नगर्ने निर्माण कम्पनीहरूका लागि कोरोना महामारीपछि जारी गरिएको लकडाउन बहानाबाजी गर्ने राम्रो अस्त्र सावित भएको छ । सोही कारण देखाएर म्याद थप गर्नुपर्ने माग समेत गरिरहका छन् । जबकि जिल्ला प्रशासन कार्यालयले लकडाउनको अवधिमा निर्माणसम्बन्धी काम नरोक्न निर्देशन दिएका थिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले लकडाउनको अवधिमा कुनै पनि निर्माण कम्पनीलाई काममा अवरोध नगरेको बताए । ‘हामीले निर्माण कम्पनीलाई विकासका काम सञ्चालन गर्न दिने निर्णय नै गरेका थियौं,’ प्रजिअ बोहराले भने, ‘कसैले काममा लकडाउन बाधक भयो भन्छ भने त्यो झूटो हो ।’

  • प्रकाशित मिति : कात्तिक १४, २०७७ शुक्रबार १४:४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया