च्याम्पियन्स लिग अन्तर्गत टर्किस क्लब इस्तानबुल बासकसेहिर विरुद्ध बुधबार खेल्ने क्रममा घाइते भएका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) तथा ब्राजिलियन फरवार्ड नेयमार केही समय मैदान बाहिर रहने भएका छन् ।
मांसपेशीमा समस्या देखिएकाले उनी नोभेम्बरको अन्तर्राष्ट्रिय ब्रेक पछि मात्र मैदान फर्किने क्लबका प्रशिक्षक थोमस टुचेलले जानकारी दिएका छन् ।
‘हामी दुखी छौं नेयमारलाई सानो चोट लागेको छ । मलाई लाग्छ उनले ब्राजिलका लागि पनि खेल्न सक्नेछैनन् । मैले पाएको सूचना उनी नोभेम्बरको अन्तर्राष्ट्रिय ब्रेकपछि मात्र मैदान फर्किने छन्’, टुचेलले बताए ।
नेयमार लिग वान अन्तर्गत नोभेम्बर २० मा मोनाको विरुद्धको खेलबाट मैदानमा फर्किने क्लबले अनुमान गरेको छ ।
यो ब्रेकअघि पिएसजीले ३ तथा ब्राजिलले २ खेल खेल्ने छन् । पिएसजीले लिग वान अन्तर्गत आज (शनिबार) नान्टेस र नोभेम्बर ७ मा रेनेससँग प्रतिस्पर्धा गर्नेछ भने च्याम्पियन्स लिग अन्तर्गत नोभेम्बर ४ मा जर्मन क्लब आरबी लाइप्जिङसँग प्रतिस्पर्धा गर्नेछ ।
ब्राजिलले विश्वकप छनोट अन्तर्गत नोभेम्बर १३ मा भनेजुएला तथा नोभेम्बर १७ मा उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।