पुल नबन्दा सास्ती : डुङ्गामा जोखिमपूर्ण यात्रा

सिरहा र धनुषा जिल्लालाई जोड्छ कमला नदीले । हुलाकी राजमार्ग अन्तर्गत यो नदीमा पुल शिलान्यास भएको ९ वर्ष बितिसक्दा पनि पुल निर्माण भएको छैन ।

२०६८ सालमै शिलान्यास भई काम सुरु भएको कमला नदीको पुल अझै अधुरै छ । ठेकेदार कम्पनीले सम्झौता अनुरूपको काम नगरे पनि रकम भुक्तानी दिई पटक–पटक म्याद थपिरहँदा मधेसका ग्रामीण जनता भने पीडा भोग्न बाध्य छन् । 

२४ करोड ९१ लाख रुपैयाँमा लागतमा कमला नदीको पुल निर्माण गर्न पप्पु लुम्बिनी जेभी कन्स्ट्रक्सनले २०६८ जेठ ३१ म सरकारसँग सम्झौता गरेको थियो । दुईपटक म्याद थप्दा पनि निर्माण हुन सकेपछि पप्पुसँगको सम्झौता रद्द गरियो ।

गत असोज १ गतेदेखि लुम्बिनी कन्स्ट्रक्सनले पुल निर्माणको काम सुरु गरेको छ । तर, निर्माणले गति लिन सकेका छैन । लुम्बिनी कन्स्ट्रक्सनले पनि सुस्त गतिमै निर्माण गरिरहेकाले पुल सकिन कम्तीमा डेढ-दुई वर्ष अझै लाग्ने स्थानीय बताउँछन् ।

जोखिम यात्रा

नदीमा पुल समयमा नबन्दा सिरहा र धनुषाका कैयौं गाउँका जनता समस्यामा छन् । उनीहरू डुङ्गा चढेर आवतजावत गर्छन् । हुन त अहिले नदीमा पानी कम छ । तर पानी बढी भएका बेला डुङ्गा चढ्न अत्यधिक डर लाग्ने गरेको सर्वसाधारण बताउँछन् ।



सिरहाबासी धनुषा आउँदा र धनुषाबासीले सिरहा पुग्नुपर्दा नदीमा जोखिमपुर्ण डुङ्गा यात्रा गर्नुपर्छ । सिरहा सदरमुकामबाट हुलाकी सडक भएर जनकपुर आइपुग्न मुस्किलले १ घण्टा लाग्छ । तर, कमला नदीमा पुल नभएका कारण पूर्वपश्चिम राजमार्ग भएर जनकपुर पुग्न ३ घण्टा समय लाग्छ ।

पूर्वपश्चिम राजमार्ग भएर जनकपुर पुग्न २ घण्टा समय बढी लाग्ने गरेकाले जोखिम मोलेर भए पनि हुलाकी सडक भएर नै धेरै मानिस आवत–जावत गर्ने कमला नगरपालिका घर भएका मनिकलाल मण्डलले बताए । 



‘डुङ्गाको यात्रा जोखिमपूर्ण रहे पनि नदी पार गर्न यात्रा गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘सिरहाका मानिसको खेत यतातिर छ । उनीहरूले दैनिक नदी पार गरेर आउनुपर्ने बाध्यता छ । धनुषाका धेरै मानिसको खेत पनि सिरहामा रहेको छ । पुल नहुँदा दुवैतिरका जनता समस्यामा छन् ।’

ढुङ्गामा यात्रा गर्दा यात्रु र चालकले सुरक्षाका लागि लाइफ ज्याकेट लगाउनु पर्ने हुन्छ । तर, यहाँ न डुङ्गा चलाउनेले लाइफ ज्याकेट लगाउँछन् न यात्रुहरूलाई नै दिन्छन् । डुङ्गामा यात्रा गर्दा लाइफ ज्याकेट लगाउनुपर्छ भन्ने कुरा चालक नै अनभिज्ञ छन् ।

‘लाइभ ज्याकेट के हो ? थाहा छैन’, कमलामा डुङ्गा चलाउने चन्दे मलाहले भने, ‘तालिम पनि कसैले दिएको छैन । यो त हाम्रो पुर्ख्यौली पेसा हो ।’ २०-२५ वटा मोटरसाइकल र ३०-३५ जना मानिस यो डुङ्गामा चढाएर दैनिक सयौं खेप लगाउँछु, उनले थपे ।

डुङ्गामा पार हुन सय रुपैयाँ

डुङ्गामा नदी पार गर्न प्रत्येक सर्वसाधारणले १ सय रुपैयाँ तिर्नुपर्छ । नदी आसपासका व्यक्तिले मासिक रुपमा धान, चामल वा नगद डुङ्गा चढेबापत चालकलाई तिर्छन् ।

मोटरसाइकल पार गर्न पनि डुङ्गा चालकले सय रुपैयाँ लिने गरेको स्थानीय बताउँछन् । सिरहाबाट धनुषा आउन नदी पार भएका सञ्जय साहले भने, ‘एक त जोखिम यात्रा गर्नुपर्छ । अर्को कुरा पैसा पनि तिर्नुपर्छ । स्थानीय सरकारले डुङ्गा चलाउँदा हुन्थ्यो नि ।’

धनुषाको कमला नगरपालिका र सिरहाको सिरहा नगरपालिकामा पर्छ हुलाकी राजमार्ग अन्तर्गत कमला नदी । तर, दुवैतर्फका मध्ये कुनै स्थानीय तहले सर्वसाधारणको पीडा महसुस गरेका छैनन्। दुवै स्थानीय तहले समन्वय गरी डुङ्गा चलाउनुपर्ने स्थानीयको माग छ ।

  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार १४:३२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया