पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद मिलाउन समन्वयकारी भूमिका खेल्न राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गरेकी छिन् ।
मंगलबार राष्ट्रपति निवास शितल निवासमा गौतमलाई बोलाएर राष्ट्रपति भण्डारीले आधा घन्टा छलफल गरेकी थिइन् ।
भेटमा अहिलेको विवाद मिलाउन गौतमले विशेष भूमिका खेल्नु पर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् ।
‘अहिले पार्टी संकटको अवस्थामा पुगेको छ । यो पार्टीलाई जोगाउन र यसको एकता कायम गर्न समन्वयकारी भूमिका खेल्नुहोस्,’ राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमलाई भनेका विषय उद्धृत गर्दै गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले फरकधारसँग भने, ‘तपाईंले यसअघि पनि पार्टी विभाजन हुनबाट जोगाउनु भएको छ, अहिले पनि पार्टी विभाजनबाट हुन जोगाउनु आवश्यक छ ।’
राष्ट्रपति भण्डारीको यो आग्रहमा गौतमले सकारात्मक जवाफ दिएका थिए । सुवेदीका अनुसार गौतमले आफूले त्यसको पहल गरिरहेको बताएका थिए ।
केही दिन यता नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दूरी झन् बढ्दै जाँदा राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमलाई भेटघाट गर्नुलाई नेकपामा निकै महत्वका साथ हेरिएको छ ।
यसअघि वैशाखमा भएको नेकपा विवादमा अन्त्यमा गौतमले समन्वय गरेर विवाद मिलाएका थिए । त्यति बेला नै भएको विवाद समाधानको क्रममा गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय पनि नेकपा सचिवालय बैठकले गरेको थियो ।
त्यसलगत्तै गौतमलाई मन्त्रिपरिषद् निर्णयबाट राष्ट्रिय सभाका लागि सिफारिस गरिएको थियो ।
यसपटक पनि यो विवाद समाधानका लागि वामदेव गौतमको भूमिकालाई विशेष रुपमा हेरिएको छ । दुई अध्यक्षबीच विवाद बढेपछि पछिल्लो समय गौतम प्रचण्डसँगको छलफलका लागि आइतबार खुमलटार पुगेका थिए । गौतमले यसपटक पनि प्रचण्ड–माधवकुमार नेपाल समूहलाई नै साथ दिएका छन् । त्यसो त यसअघि पनि पहिले यही समूहलाई साथ दिएका गौतमले पछि प्रधानमन्त्रीमा केपी शर्मा ओली नै पूर्ण कार्यकाल हुनु पर्ने भन्दै ६ बुँदे पत्र निकालेका पनि थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।