निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गर्न कांग्रेस नेता खुलामञ्च पुगे

नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ । कांग्रेसका नेताहरु खुलामञ्च नै पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन् । 

कांग्रेसको कोभिड अनुगमन समितिका संयोजक समेत रहेका सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौं महानगरपालिकाको अहिलेको नेतृत्वले आम नागरिकको समस्या नबुझेको बताए । अभियानलाई समर्थन नै गर्न खुलामञ्च पुगेका महतले महानगरपालिका आफैँले राहात पुर्याउनुपनेमा दाताहरुले सहयोग गरे पनि रोक्न निर्देशन दिने कुरा कदापि स्वीकार्य नहुने बताए । 

कांग्रेस नेता भीमसेनदास प्रधानले निःशुल्क खाना खुवाइरहेको समूहलाई १० हजार नगद सहयोग गर्दै सरकारले विकल्प नदिँदासम्म खुलामञ्चमा खाना खुवाउन रोक्न नहुने बताए । संविधानले दिएको नागरिकको अधिकार पनि राज्यले खोसेको उनले बताए । 

हण्ड्रेड ग्रुपका संस्थापक अंशु यादवले महानगरपालिकाले तिहारसम्म खुलामञ्चमै खाना खुवाउन भनेको बताए । तिहारपछि होटेल बुकिङ गरेर भए पनि व्यवस्थापन गर्ने महानगरपालिकाले प्रतिबद्धता जनाएको उनले बताए । 

कोरोना संक्रमणको जोखिम बढेको, फोहोर भएको भन्दै महानगरपालिकाले खुलामञ्चमा खाना नखुवाउन भन्दै आएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबारै पत्रकार सम्मेलन गरेर अन्य ठाउँमा व्यवस्थापन गर्न आग्रह गर्दै आवश्यक सहयोग महानगरले गर्ने बताएका थिए । सक्नेले श्रम गर्नुपर्ने र नसक्नेलाई सबै मिलेर व्यवस्थापन गर्नुपर्ने उनले पत्रकार सम्मेलनमा बताएका थिए । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७७ बुधबार १८:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया