बंगलादेशको ढाकामा रहेको नेपाली राष्ट्रिय फुटल टिमले आइतबारदेखि मैदानमा अभ्यास खेल सुरु गरेको छ ।
काठमाडौंबाट बिहीबार ढाका पुगेको नेपाली टिमले आजदेखि अभ्यास सुरु गरेको हो । नेपाली फुटबल टिम बंगलादेशको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्नका लागि ढाका पुगेको हो । नेपाली फुटबल टिम कोभिड १९ संक्रमणको जोखिमका कारण बिहीबारदेखि ढाकामा होटल क्वारेन्टाइनमा बसेको थियो ।
क्वारेन्टाइनमा रहेकै बेला पनि होटलको छतमा दुई दिनसम्म सामान्य अभ्यास गरेको टिमको पिसिआर रिपोर्ट नेगेटिम आएसँगै आजदेखि मैदानमै अभ्यास गर्न अनुमति पाएको हो । यससँगै शेख जमल धनमुण्डी फुटबल मैदानमा पहिलो दिन २ घण्टाभन्दा बढी अभ्यास गरेको छ । ढाका पुगेपछि पहिलोपटक मैदानमा अभ्यास गराउन पाउनुभएका प्रशिक्षक बालगोपाल महर्जनले कोरोनाका कारण केही समस्या देखिए पनि नेपाली टिमले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।
यस्तै कप्तान किरण चेम्जोङले नेपाल र बंगलादेशको स्तर समान रहेकाले पनि मैत्रीपूर्ण खेलमा तीव्र प्रतिस्पर्धा हुने बताए । उनले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न पाएको अवसरलाई सदुपयोग गर्न नेपाली टोली सक्षम रहेको बताए ।
नेपाली फुटबल टिमले कात्तिक २८ गते र मंसिर २ गते बंगबन्धु स्टेडियममा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।