बैतडी बस दुर्घटना अपडेट :
मृतक सबैको सनाखत, घुम्तीमा स्टेरिङ नघुम्दा दुर्घटना
बैतडीको खोड्पेमा बिहीबार राति दुर्घटनामा परेको बस । फरकधार

बैतडीको खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा परेर ज्यान गुमाउने र घाइतेहरूको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा ९ जनाको ज्यान गएको छ भने ३४ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कवीन्द्र जोशी, कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम ४ का तर्कराज गिरी रहेका छन् ।

यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका १० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी र धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि सोही दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

बैतडी र दार्चुलाको सिमाना गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना५ख ५१४१ नम्बरको पवन दूत यातायातको बस बिहीबार राति १०ः२५ बजे बैतडीको पाटन नगरपालिका–८, खोड्पे बजार नजिक दुर्घटनामा परेको हो ।

बस सडकबाट छ सय मिटर तल भीरमा खसेको छ । बस टुक्रा टुक्रा भएको छ । बसमा ४३ जना सवार थिए । घाइतेहरूको राति नै उद्धार गरेर उपचारका लागि डडेल्धुरा अस्पताल पु¥याइएको थियो । 



दुर्घटनामा परी घाइते हुनेहरू दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र काठमाडौंका छन् । घाइते हुनेमा वीरबहादुर कार्की, विमला कुँवर, नितेश कुँवर, दीपा चन्द, विमला बडु, अशोक जोशी, जनक धानुक, धनसिंह खत्री, जानकी सिंह, लोकेन्द्र बोहरा, अमृत कुमाल, दिनेश चौधरी, विशाल धर्तीमगर, कर्णबहादुर विष्ट घाइते भएका छन् ।

यस्तै गरेर अस्मिता विष्ट, नरेश पन्त, बलदेवसिंह कार्की, यज्ञराज कठायत, नरेन्द्र साउद, वीरेन्द्र चौधरी, लोकेन्द्र बस्नेत, सुरज लोहार, दशरथ गिरी, नरमादेवी धामी, अमृत विक, पुरन टमटा, अजी लामा, कल्पना कार्की, कौशल साउद, वेदप्रकाश धामी, रमेश खत्री र सिम्रन सिंह पनि घाइते भएका छन् ।



उद्धारमा खोड्पे प्रहरी चौकी र स्थानीय व्यापारी खटिएका थिए । घाइतेको उद्धार गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारी आफैं घटनास्थल पुगेका थिए । गाडीमा सवार यात्रुका अनुसार सर्भिस गर्नुपर्ने गाडी जबरजस्ती चलाएपछि दुर्घटना भएको हो । गाडी बाटोमा मर्मत गर्दै ल्याउँदै गरेको थियो । गाडी चालकका अनुसार घुम्तीमा गाडीको स्टेरिङ नघुम्दा बस दुर्घटना भएको हो । साहु समेत रहेका चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका वीरेन्द्र कार्की समेत घाइते छन् । उनको कम्मर, टाउको र पाखुरामा चोट लागेको छ । प्रहरीले दुर्घटना हुनाको कारण अनुसन्धानकै क्रममा रहेको बताएको छ ।

  • प्रकाशित मिति : कात्तिक २८, २०७७ शुक्रबार १३:१०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया