नेपाल–बङ्गलादेश मैत्रिपूर्ण सिरिज बङ्गलादेशलाई

दोस्रो तथा अन्तिम मैत्रीपुर्ण खेलमा नेपाललाई बराबरीमा रोक्दै घरेलु टोली बङ्गलादेशले मुजिव बर्ष फिफा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण सिरिज आफ्नो पोल्टामा पारेको छ । 

ढाकास्थित बङबन्धु राष्ट्रिय फुटबल मैदानमा आज भएको खेल गोलरहित बराबरीमा टुगिङ्गको हो । दुई खेलको सिरिजमा पहिलो खेल घरेलु टोलीले २–० को जित हात पारेको थियो ।

पहिलो खेलको तुलनामा केही सुधारिएको प्रदर्शन गरेता पनि नेपालले पाएका केही मौकालाई सदुपयोग गर्न सकेन । खेलको तेस्रो मिनेटमा दर्शन गुरुङको फ्रिकिक प्रहारमा आएको रिबाउन्ड बललाई तेज तामाङले ३० यार्डबाट गरेको भली प्रहारलाई बङ्गलादेशी गोलरक्षक अशरफुल रानाले बचाउ गरे । ३३ औं मिनेटमा एरिक विष्टको प्रहारमा अन्नत तामाङले गरेको हेडरले पनि पोस्टको दिशा लिन सकेन । थप गरिएको समयमा रजिन धिमालको क्रसमा नवयुग श्रेष्ठको हेडर प्रहार लागेर फर्किदा नेपाल अग्रता लिनबाट चुक्यो । 

बङ्गलादेशले पनि केही मौका गुमाएको थियो । २३ औं मिनेटमा सुमन रेजाले गरेको प्रहार क्रसबारबाट थोरैले बाहिरियो । २९औं मिनेटमा कप्तान जमाल भुयाँको फ्रिकिक प्रहारलाई नेपालका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे । 

आजको खेलमा नेपालका लागि ३ खेलाडीले डेब्यु गरेका छन् । आजको खेलमा डिफेन्डर छिरिङ गुरुङ र मिडफिल्डरद्वय पुजन उपरकोटी र सेसेहाङ आङदेम्बेले डेब्यु गरेका हुन् ।

छिरिङले सुरुवाती ११ मै टोलीमा स्थान बनाउदा उपरकोटी दोस्रो हाफको सुरुवातमै तेज तामाङ तथा आङदेम्बे ७२ औं मिनेटमा  दर्शन गुरुङको स्थानमा मैदान प्रवेश गरेका हुन् ।





  • प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार १९:२०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया