नेकपा सचिवालय बैठकमा महासचिव पौडेलले भने– हामी सामूहिक राजीनामा दिऔँ, कम्युनिस्ट आन्दोलनका मलामी भयौँ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद अब केही मत्थर हुने भएको छ । बुधबार बस्ने भनिएको नेकपा सचिवालय बैठक बस्ने या नबस्ने भन्ने कुनै टुङ्गो नहुँदा नहुँदै बसेको थियो । 

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यो बैठक सार्न खोजिरहेका थिए । तर, अहिलेको नेकपा विवादमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिएका सचिवालयका पाँच सदस्यले यो बैठक जसरी पनि राख्नु पर्ने बताउँदै आएका थिए ।

प्रचण्ड, नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतमलगायतले आजको बैठक बालुवाटारमा नबसिएको खण्डमा पार्टी कार्यालयमा बैठक राख्ने चेतावनी दिन थालेपछि अध्यक्ष ओली पनि बैठक राख्न सहमत भएको स्रोतको दाबी छ । 

नेकपा सचिवालय बैठकअघिका केही प्रसंगहरुबारे कुराकानी गरौँ । 

मंगलबार मात्र नेकपाका नेताहरुले दुवै अध्यक्षलाई आआफ्ना सुझाव दिएका थिए । प्रचण्डनिकट नेताहरुले आजको बैठक जसरी पनि गर्नु पर्ने बताइँरहँदा बालुवाटारमा ओलीपक्षका नेताहरु भेला भएर ओलीलाई यो बैठक सार्न सुझाव दिएका थिए । 

मंगलबार नै दुवै अध्यक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भेटेकी थिइन् । दुवैलाई उनले अहिलेको विवाद समाधान गरेर अगाडि बढ्न अनुरोध गरेकी थिइन् । त्यस्तै, मंगलबार साँझ नै प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीबीच पनि भेटघाट भएको थियो । मंगलबार विहान नेकपाका महासचिव विष्णु पौडेल यो सचिवालय बैठक सार्नु पर्ने प्रस्ताव लिएर प्रचण्डकहाँ पुगेका थिए ।



तर, प्रचण्डले ओलीको यो प्रस्तावलाई प्रचण्डले अस्वीकार गरिदिएका थिए । 

यी सब घटनाक्रमबाट आज बसेको नेकपा सचिवालय बैठक झन्डै तीन वर्षअघि पूर्वएमाले र पूर्वमाओवादी मिलेर बनेको नेकपाको भविष्यसँग जोडिएर हेरिएको थियो । अहिले पार्टीमा देखिएको विवादका कारण पार्टी नै फुट्न सक्ने अनुमान पनि गरिएको थियो ।



‘तर, आजको बैठक सौहार्द थियो, त्यस्तो गर्मागर्मी केही देखिएन,’ नेकपा सचिवालयका एक सदस्यले फरकधारसँगको कुराकानीमा भने, ‘सबै जना मिलेर जानुपर्छ भन्नेमा नै हुनुहुन्थ्यो । त्यसैले बाहिर आएजस्तो नेताहरुको मनको तिक्तता त्यहाँ देखिएन ।’

आजको बैठकमा सबैभन्दा बढी सहजीकरण गरेका थिए, नेकपा महासचिव पौडेलले । अर्थमन्त्री समेत रहेका पौडेलले जब बैठकमा आफ्ना कुरा राखे, नेकपा सचिवालयका अन्य सदस्यले त्यसलाई सुनिरहे मात्र । 

बैठकमा सहभागी ती सचिवालय सदस्यले भने, ‘उहाँले आफ्नो कुरा राखेपछि बैठकमा सन्नाटा छाएको थियो ।’

‘सचिवालयलाई हामी कोर भन्छौँ, तर यो अहिले समस्या उत्पादन गर्ने कारखाना भएको छ,’ नेकपा महासचिव पौडेलको भनाइलाई ती सदस्यले उद्धृत गरे, ‘हामीले जुन समाधान लिएर जानु पर्ने हो, त्यो गर्न सकेका छैनौँ भने यो सचिवालयमा हामी बसिरहनु हुँदैन ।’

त्यसपछि पौडेलले भने– स्थायी कमिटी बैठक राखौँ र हामी सबैले राजीनामा लिएर जाऔँ । 

सचिवालयका ती सदस्यका अनुसार पौडेलले यसो भन्दा अन्य नेकपा नेताहरु चुपचाप त्यहाँ बसिरहेका थिए । त्यसपछि पौडेलले फेरि थपे, ‘यस्तै हो भने हामीले स्थायी कमिटीका साथीहरुसँग हामीले सकेनौँ भनेर आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्छ, त्यसको अरु कुनै विकल्प छैन ।’

यतिमात्र होइन, पौडेलले आजको बैठकमा भने, ‘यही अवस्था हो भने हामी कम्युनिस्ट आन्दोलनको मलामी हुन सक्छौँ ।’ उनले अहिले नेकपामा देखिएको विवाद र नेकपाका शीर्ष नेताहरुले गरिरहेको क्रियाकलाप कुनै पनि अर्थमा सही नभएको पनि बताएका थिए । ‘हामीले यही ढंगमा काम गरिरहने हो भने हामी कम्युनिस्ट आन्दोलनका मलामी हौँ,’ बैठकमा पौडेलले भनेको कुरालाई ती सचिवालय सदस्यले फरकधारसँग उद्धृत गरे ।

उनका अनुसार आजको सचिवालय बैठकमा सकारात्मक कुरा भएको छ ।

  • प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार १६:२१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया