आजको सचिवालय बैठकमा आफूले प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने कुरा उठाएको भनी आएका हल्ला निराधार रहेको वामदेव गौतमले बताएका छन् । गौतमको सचिवालयले एक सूचना जारी गर्दै केही अनलाइन पोर्टलहरुले गौतमले भन्दै नभनेका कुरालाई आधार बनाएर तथ्यहीन खबर दिएको दावी गरेको छ ।
आजको बैठकमा प्रचण्डको प्रस्तावमाथि कुनै छलफल नभएको र बरु प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीले आफ्नो पनि प्रस्ताव ल्याउने भनेपछि बैठकमा सहजता भएको गौतमलाई उद्धृत गर्दै सचिवालयले बताएको छ ।
प्रचण्डको प्रस्ताव पार्टी उपाध्यक्ष रहेका गौतमसहितको सहमतिमा आएको र यो प्रस्ताव फिर्ता हुनुहुँदैन भन्नेमा उनी सतिसालझैँ अडिग रहेको दावी गौतमको सचिवालयले गरेको छ ।
‘प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पद्धति पक्षधर नेता–कार्यकर्ताको सामूहिक आवाज हो । केही भ्रमहरु छरिएको प्रति हाम्रो गम्भीर आपत्ति छ ।’ जारी सूचनामा भनिएको छ ।
ओलीलाई खुसी पार्ने नाममा पार्टीका अरु नेताको बदख्याइँ गर्ने काम बन्द गर्न गौतमको सचिवालयले आग्रह गरेको छ ।
‘क.केपी ओलीलाई धरातलीय यथार्थबाट माथि (हावामा) उडाएर उहाँको सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम तुरुन्त रोकियोस् ।’ गौतमको सचिवालयले भनेका आग्रह गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।