नेपालमा सबैभन्दा पहिला बिजुली बलेको घर जुन अहिले छ अन्धकार !
फरकधार / ९ मंसिर, २०७७

नेपाली घरमा बिजुली बल्यो, बिजुलीको बल्ब बल्यो ।



सय वर्षअघि याे वाक्य कुनै कथाजस्तै थियाे । कथाजस्तै लाग्ने यो वास्तविकतासँग जोडिएको छ, खोकना । खोकनासँग सभ्यता र सँस्कृति, चालचलन र परम्पराका  कथाहरु थुप्रै छन् । कतिपय कथा सुनिएका छन्, कति सुनिन बाँकी छन् ।

कथाहरुकाे चाङ भएकाे खाेकनाकाे एउटा कथा हाे– नेपालमा सबैभन्दा पहिले बिजुली बलेकाे घर खाेकनामा छ ।  इतिहास बाेकेकाे एउटा घर छ खाेकनामा ।

खोकनामा एउटा चर्चित मन्दिर छ, रुद्रयाणी । रुद्रयाणीको पूर्वमा लहरै जोडिएका छन् केही घरहरु । जसले बोकेका छन् आफ्नै सभ्यता, यी घरहरु जोसँग छ आफ्नै इतिहास र कथा । 



अनि यी घरहरुमा छैटौं घर त्यो घर हो जहाँ नेपालमा पहिलो पटक बिजुली बलेको थियो । 

सेतो रंगले पोतिएको, झिँगटीको छानाले छाएको र कलात्मक आँखीझ्याल र ढोका भएको यो घर अहिले त निकै जीर्ण भइसकेको छ । घरको पर्खालबाट केही इँटाहरु खसेका छन् । 

नखसुन् पनि किन यो घरले भोगेको छ, १९९० र २०७२ सालको भूकम्प ।

इतिहासका अनेक पानाहरूसँग साक्षात्कार यो घरको ढोकैमा छ एउटा साइनबोर्ड । साइनबोर्डमा लेखिएको छ– खोकना संग्राहलयमा तपाईंहरुलाई स्वागत छ । नेपालमै सबैभन्दा पहिला बिजुली बलेको घर । 

आजभन्दा पाँच वर्षअघि । १२ वैशाख । बारपाक केन्द्रविन्दू भएर गएको भूकम्पका कारण नेपालले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु पर्यो । त्यही भूकम्पको चपेटामा परेको थियो, यो घर पनि । 

नराम्रोसँग नेपाली भूमि हल्लाएको त्यो भूकम्पले यो घरलाई पनि राम्रैसँग हल्लायो । अनि आफू बसिरहेको घर छोडेर अर्कै ठाउँमा सरे, मदनकृष्ण डंगोल । ७६ वर्ष पुगेका डंगोल अहिले शिथिल भएर जीवन बिताइरहेका छन्, उनीसँग आफ्नै कथा छ, नेपालमा पहिलो पटक बिजुली बलेको घरजस्तै अहिले त उनी पनि गलेका छन् । 

र, उनले छोडेका छन्, आफ्नो घरलाई सङ्ग्रहालयको रुपमा । 

स्थानीय अभियन्ता स्वयम्भुराज डंगोल हाम्रो सम्पर्कमा आए । यो घरबारे कुरा गर्न उनैले भेटाइदिए, कृष्णभगत महर्जन । रुद्रयाणी विद्यालयका प्रधानाध्यापक तथा सामाजिक अभियन्ता महर्जन तिनै हुन् जसले मदनकृष्णलाई उनको घर संग्रहालयमा परिवर्तन गर्न सहयोग गरेका थिए ।

र, त्यो हो– २०६७ सालमा । मदनकृष्णले २०६७ सालमा आफू जन्मिएको, हुर्किएको र नेपालमा पहिलो पटक बिजुली बलेको घरलाई संग्रहालयमा परिवर्तन गरे । 

तर, २०७२ सालको भूकम्पका कारण मदनकृष्णको यो घर क्षतिग्रस्त भएको छ, अहिले बन्द छ, अन्धकार छ ।

नेपालमा पहिलोपटक बिजुली बलेको यो घरको कथा अझ विस्तृतमा बुझौँ ।

नेपालमा बिजुलीको एक सय १० वर्ष लामो इतिहास छ । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर सन् १९०८ मा युरोप घुम्न गएका थिए । 

युरोपको विकास र जीवनशैली, युरोपको भव्यताबाट प्रभावित भएर चन्द्रशमशेरले नेपालमा पनि विकासको लहर सुरु गर्न चाहे । फलस्वरुपः उनले फर्पिङमा पावरहाउस बनाउने निधो गरे र बिजुली बाल्ने तयारी सुरु गरे । यो १९६७ सालको कुरा हो । चन्द्रशमशेरले बिजुली निकाल्न सुरु गरेको त्यो आयोजनाको नाम राखे– चन्द्रज्योति । आयोजनाको लक्ष्य थियो– पाँच सय किलोवाट बिजुली उत्पादन गर्ने ।

सुरु गरेको दुई वर्षमा आयोजनाको काम सकियो । 

नेपालमा पनि अब बिजुली बल्ने भयो ।

तर, सुरुमै राणाहरुले दरबारमा लगेर बिजुली बाल्ने योजना बनाएनन् । ‘सिधै दरबारमा लगेर बिजुली बाल्दा अनिष्ट हुनसक्छ भन्ने उनीहरुले सोचेका थिए सायद,’ केही दिनअघि रुद्रायणीका प्रधानाध्यापक कृष्णभगत महर्जनले फरकधारसँग सुनाए, ‘त्यही भएर राणाहरुले कसको घरमा बिजुली बाल्ने होला भन्ने सोचे, अनि यो घर रोजाइमा पर्यो ।’

आखिर मदनकृष्णकै घर किन राणाको रोजाइमा पर्यो त ? 

यसको कथा जोडिएको छ, मदनकृष्णका जिजुबाजेसँग भएको राणाहरूको सम्बन्ध ।

‘मदनकृष्णका जिजुबाजे सिद्धिलाल राणाहरुको काम गर्थे,’ महर्जनले भने, ‘अनि फर्पिङ जाने त्यति बेलाको एउटा मात्र बाटो खोकनामा उनको घर थियो । त्यही भएर राणाहरुले उनको घरमा नै बिजुली बाल्ने निर्णय गरे ।’

राणाहरुले यो निर्णय के गरेका थिए, सिद्धिलालको सातो उड्यो । ‘उहाँ निकै डराउनु भएको थियो रे,’ महर्जनले भने, ‘घरमा अनिष्ट हुन्छ कि भन्ने सिद्धिलाललाई पनि लागेको थियो । त्यसैले उनले घरभित्र होइन, मुल दैलोमा मात्र बिजुली बाल्ने बन्दोबस्त मिलाएका थिए ।’

मदनकृष्णको घरमा त्यति बेला पहिलो पटक बिजुली बल्यो । 

तर, राणाहरुले चाहिसक्दा पनि सुरुमा सिद्धिलाल यसका लागि तयार भएका थिएनन् । छिमेकीहरुले पनि उनलाई सकेसम्म घरमा बिजुली नबाल्न भनेका थिए । 

एकातिर छिमेकीहरुको आग्रह र डर, अर्कोतिर राणाको हुकुम । सिद्धिलालसँग दोस्रो विकल्पमा जानु बाध्यता नै थियो । त्यही भएर उनले मूल दैलोमा एउटा बाघको मूर्ति बनाए र त्यहाँ नै बल्ब राखेर बिजुली बाले ।

जे होस्, सिद्धिलालले घरमा बिजुली बाले । तर, यो बल्बको स्विच उनको कन्ट्रोलमा थिएन । यसको स्विच त थियो, फर्पिङमै ।

‘त्यो घरमा निरन्तर बल्ब बलिरह्यो, राति त वरपरका घरमा पनि त्यही बल्बको उज्यालोले उज्यालो हुन्थ्यो,’ महर्जनले सुनाए । 

पछि नेपालमा बिस्तारै बिजुली आयो, घरघरमा बिजुली बाल्न थालियो । अनि नेपालमा सबैभन्दा पहिले बिजुली बलेको यो घर पनि ओझेलमा पर्न थाल्यो ।

तर, ओझेलमा पर्न थालेको यो घरको यो इतिहासलाई कसरी राखिरहने ? 

मदनकृष्ण डंगोलसँग यो प्रश्न मनमा थियो । उनी यही जिज्ञासा लिएर पुगे कृष्णभगत डंगोलकहाँ । जलवायु विभागबाट अवकास पाएका मदनकृष्णलाई यो घरलाई सङ्ग्रहालयमा बदल्न सकिन्छ कि भन्ने थियो ।

‘यो त एकदमै राम्रो सोच हो, घरलाइ सङ्ग्राहलयमा बदल्न सकियो भने त निकै राम्रो हुन्छ नि,’ २०६७ सालमा मदनकृष्णलाई यही कुरा भनेका थिए, कृष्णभगतले । 

मदनकृष्णको सोचमा जसै ऊर्जा भरिदिए, कृषणभक्तले, यो घर फेरियो एक सङ्ग्रहालयमा ।

त्यसपछि यो घरलाई संग्राहलयमा परिणत गरियो । यो घर पनि आफैंमा एक संग्राहलय हो किनभने यो बनाउँदा शहर बन्नुअघिका इट्टाहरु र ऐतिहासिक परम्परगत सामाग्रहरु प्रयोग गरिएको छ । रैथाने नेवार समुदायले दैनिकीमा प्रयोग गर्ने ढिकी जातो, गरगहनाका साथै हातैले लेखिएका मुलुकी ऐन, पुराना कथा, किताब र खोकनाका नेवारी संस्कृति झल्कने परम्परागत सरसामान राखियो । 

हो, २०६७ सालमा आफ्नै पहलमा मदनकृष्णले आफ्नो घरलाई सङ्ग्रहालय बनाए । २०७२ मा भूकम्पले यो घरलाई थप जीर्ण बनायो । बस्नै नमिल्ने गरि घर भत्किएपछि मदनकृष्ण आफ्नो भाइको घरमा ‘डेरा’ सरे ।

एउटा इतिहास बोकेको यो घरको मूल ढोकामा अहिले ताल्चा झुन्डिएको छ ।

‘मदनकृष्णले एक्लै पहल गर्दा यो सङ्ग्राहलय चलिरहेको थियो,’ कृष्णभगतले गुनासो गरे, ‘अब त उहाँ कमजोर भइसक्नु भएको छ, ख्वै अब के होला यो घर ?’ 

हुन पनि पछिल्लो समय यो घरमा राखिएका सामानहरुको चोरी हुन थालेको छ ।

अनि नेपालमा पहिलो पटक बिजुली बलेको यो घरमा अहिले छैनन्, बिजुलीका बल्बहरु । 

नेपालमा पहिलो पटक बिजुली बलेको यो घर अहिले छ, अन्धकारमा ।

  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १३:५४:४,   अन्तिम अपडेट : मंसिर ९, २०७७ मंगलबार १४:४३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया