स‌ंघ र प्रदेशको मातहतमा रहने गरी कारागार वर्गीकरण, समितिमा पम्फा–बादल सवाल–जवाफ

सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गीकरण गर्ने भएको छ । कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत सङ्घ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गीकरण गरेको छ । 

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले खुला कारागार, प्रदेश कारागार, विशेष कारागार र सङ्घीय कारागार गरी चार भागमा वर्गीकरण गर्ने गरी विधेयक तयार गरिएको बताए । खुला कारागारमा रहने कैदीले तोकेको समयमा आफूलाई राखिएको ठाउँभन्दा बाहिर समेत गइ कुनै काम गर्न पाउनेछन् ।

यस्तै, प्रदेश कारागार प्रदेश सरकारको मातहतमा हुनेछ भने विशेष कसुरको प्रकृति, सुरक्षा संवेदनशीलता र कैद अवधिसमेतको आधारमा सजाय पाएका कैदीहरूलाई राखिने गरी विशेष कारागारको व्यवस्था गरिएको छ । यस्तै, सङ्घीय सरकारमातहत रहने गरी सङ्घीय कारागारको निर्माण गर्ने व्यवस्था पनि विधेयकमा गरिएको सचिव न्यौपानेले स्पष्ट पारे । 

सरकारको यो प्रस्तावलाई सत्तारुढ दलकै सांसद पम्फा भुसालले भने विरोध गरेकी छिन् । उनले प्रदेश र सङ्घमातहत रहने गरी कारागारलाई वर्गीकरण गर्नुपर्ने कारण के हो ? भन्दै प्रश्न गरिन् । देशको आर्थिक भारलाई हेरेर भए पनि कारागारलाई सङ्घ अथवा प्रदेश सरकार कुनै एकबाट मात्रै सञ्चालन हुने गरी राख्नुपर्ने उनको तर्क छ ।

कारागार व्यवस्थापनमा थप कर्मचारी वा थप संरचना बढाइ भार बढाउने काम गर्न नहुने उनले बताइन् । प्रदेशलाई कारागारको जिम्मा दिई सङ्घीय सरकारले अनुगमन गर्ने संयन्त्र निर्माण गर्दा उचित हुने पनि उनको भनाइ छ । अथवा सर्वोच्च अदालतबाट फैसला भई सजाय पाएकाहरूलाई केन्द्रीय कारागारमा र उच्च अदालतबाट सजाय पाएकाहरूलाई प्रदेशमा राख्नुपर्ने व्यवस्था गर्नुपर्ने र यसो नहुँदा कुन कैदीलाई कहाँ राख्ने भन्ने समस्या उत्पन्न हुन सक्ने उनले बताइन् । त्यसैले कारागारको वर्गीकरण गर्दा राष्ट्रलाई फाइदा नहुने बताइन् ।  

गृहमन्त्री रामबहादुर थापाले भने सङ्घीय संरचना अन्तर्गत व्यवस्थापन गर्नुपर्ने भएकाले कारागारको वर्गीकरण गरिएको बताए । सङ्घ र प्रदेशको कारागार एउटै बनाउने वा छुट्याउने भन्ने विषयमा छलफल भए पनि कानुनी दृष्टिकोणलाई ध्यान दिएर वर्गीकरण गरिएको उनले स्पष्ट पारे । उनले सङ्घ वा प्रदेश कुनै एकलाई मात्रै जिम्मा दिने हो भने कानुन नै संशोधन गर्नुपर्ने बताए । 



सङ्घीयताअनुसार कामको बाँडफाँड गरिएकाले पनि प्रदेशको मातहतमा समेत कारागार राख्न पाउने गरी विधेयक ल्याइएको गृहमन्त्री थापाले स्पष्ट पारे । 



  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार २०:५५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया