अस्ट्रेलिया–भारत तीन खेलको टी–२० अन्तर्गत पहिलो खेल आज हुँदैछ । क्यानभेरास्थित मानुका ओभलमा हुने खेल नेपाली समय अनुसार दिउँसो १ः५५ बाट सूरु हुनेछ । अस्ट्रेलियाको कप्तानी आरोन फिन्च र भारतको कप्तानी विराट कोहलीले गर्नेछन् ।
एक दिवसीय सिरिजमा २–१ को जित हात पारेको घरेलु टोली अस्ट्रेलिया टी–२० मा पनि त्यही प्रदर्शनलाई निरन्तरता दिन चाहान्छ । भारत पनि टी–२० सिरिज हात पार्दै एकदिवसीयमा व्यहोरेको पराजयको बदला लिने दाउमा छ ।
यी दुईबीच हाल सम्म भएको टी–२० खेललाई हेर्दा भारत नै बलियो देखिन्छ । हालसम्म यी दुई टोलीले २१ टी–२० मा प्रतिस्पर्धा गर्दा भारतले ११ र अस्ट्रेलियाले ८ खेल आफ्नो पक्षमा पारेका छन् । दुई खेल बिना नतिजा टुंगिएको छ ।
पछिल्ला पाँच खेलमा भने अस्ट्रेलिया बलियो देखिन्छ उसले ३ खेल आफ्नो पक्षमा पर्दा २ खेल गुमाएको छ तर अस्ट्रेलियन भुमिमा भारतले धेरै सफलता पाएको छ । अस्ट्रेलियामा भएका ९ खेल ५ खेल भारतले जित्दा ३ खेल अस्ट्रेलियाले जितेको छ भने १ खेल बिना नितजा टुंगिएको छ ।
सन् २००७ मा पहिलो पटक एक अर्काविरुद्ध टी–२० खेल खेलेका अस्ट्रेलिया र भारतले पछिल्लो पटक गतवर्ष टि–२० सिरिज खेलेका थिए । भारतमै भएको २ खेलको उक्त सिरिजमा अस्ट्रेलिया २–० ले विजयी भएको थियो ।
आजको खेलमा ओपनर डेविड वार्नर उपलब्ध हुने छैनन् । भारतविरुद्धको दोस्रो एक दिवसीय खेलमा घाइते भएका वार्नर कम्मरमा समस्या भएका कारण अझै केही समय मैदानबाहिर रहने छन् ।
वार्नरको स्थान डार्सी सर्ट वा म्याथु वेडले लिनेछन् । यि दुई मध्य एकले ओेपनिङमा कप्तान ओरान फिंचलाई साथ दिने छन् ।त्यस्तै तिब्रगतीका बलर प्याट कमिंस पनि आजको खेलमा उपलव्ध हुने छैनन् । उनलाई टेस्ट सिरिजका लागि आराम दिइएको छ ।
अन्तिम एकदिवसीय खेलमा मौका नपाएका तीब्र गतीका बलर मिचेल स्टार्कले पनि आजको खेल्ने वा नखेल्ने निश्चित छैन । यदि उनी फिट नभएमा एन्ड्रयु टाईले मौका पाउन सक्छन् ।
लयमा देखिएका कप्तान ओरान फिन्च, स्टिभ स्मिथ र अलराउन्डर म्याक्सवेल अस्ट्रेलियाका मुख्य हतियार हुन् । एकदिवसी सिरिजमा फिन्चले १ शतक र २ अर्धशतकको मदतमा २४९, स्मिथले २ शतकको मदतमा २१६ र म्याक्सवेलले २ अर्धशतकको मदतमा १६७ रन प्रहार गरेका थिए ।
अस्ट्रेलियाको बलिङ आक्रमणमा जोस हेजलउड र एडम जाम्पा हुने छन् । एक दिवसीय सिरिजमा जम्पाले ७ र हेजलउडले ६ विकेट हात पारेका थिए । उनीहरुलाई एस्टन अगर र सन एबट लागायतले साथ दिने छन् ।
भारतका लागि ओपनिङमा शिखर धवन र केएल राहुल आउने सम्भावना छ । कप्तान विराट कोहली, अलराउन्डरद्वय हार्दिक पाण्डेय र रविन्द्र जडेजा भारतका लागि मुख्य हतियार हुन् ।
एक दिवसीय सिरिजमा समान २–२ अर्धशतक प्रहार गरेका कोहलीले १७३ र पाण्डेयले २१६ रन बनाएका थिए । जडेजाले १ अर्धशतकको मदतमा ११५ रन प्रहार गरेका थिए ।
भारतको बलिङ आक्रमण जसप्रित बुमराह र महम्मद शामीले सम्हाल्ने छन् । उनीहरुले एक दिवसीय सिरिजमा समान ४–४ विकेट हात पारेका थिए । बुमराह र शामीलाई दिपक चहर, युजवेन्द्र चहल लगायतको साथ हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।