सुरुमा २० प्रतिशत नागरिकलाई पुग्नेगरी कोरोनाविरुद्धको खोप ल्याउने तयारी
फरकधार / २० मंसिर, २०७७

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कुल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ), ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । 

उनले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताए । उनले सुरुमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि बिस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने जानकारी दिए । कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प्रदान हुनेछ । गरिब तथा कम आय भएका मुलुकलाई कोभ्याक्स सुविधाअन्तर्गत खोप निःशुल्क प्रदान गरिनेछ । 



प्रमुख डा. शर्मा गौतमका अनुसार फाइजर एण्ड वायोएनटेक कम्पनी (रसिया), मोडेर्ना (अमेरिका), ग्यामेलिया (रसिया) र अक्सफोर्ड एक्ट्राजेनिका (बेलायत) कम्पनीका खोप अहिले परीक्षणका क्रममा रहेकाले तिनीहरुमध्ये एउटा कम्पनीको खोप स्वदेशमा ल्याइनेछ । 



खोप उत्पादन गर्ने मुलुकमा दर्ता भइसकेपछि डब्लुएचओमा दर्ता र त्यसपछि नेपालको औषधि व्यवस्था विभागमा खोप दर्ता हुनेछ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा खोप सचिवालय, तथा मन्त्रालयको प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा खोप कोष सचिवालय गठन गरेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारले खोप ल्याउने तयारीका साथ काम गरिरहेको जानकारी दिए । उनका अनुसार खोपका लागि आवश्यक रकम, खोप ल्याइसकेपछि भण्डारण, खोप सुरुमा कसकसलाई दिने, खोप कसरी दिने भन्ने स्वास्थ्यकर्मीलाई तालिमजस्ता काम भइरहेको छन् । 

उनले खोप ल्याउनेका लागि विभिन्न कूटनीतिक नियोगसँग पनि छलफल भइरहेको जानकारी दिए । 

  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार १८:३:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया