महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो: राज्यले सेवाअनुसारको सुविधा दिएन
१७औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा सामूहिक रुपमा फोटो खिचाउँदै स्वयंसेविका । तस्बिर : कैलाश जोशी/फरकधार ।

धनगढी उपमहानगरपालिका–५ की ५८ वर्षीय स्वयंसेविका चित्रा ओझाले ०४५ सालमा कैलालीको चौमाला गाविसबाट सेवा सुरु गरिन् । आफूले सामाजिक सेवा गर्ने उद्देश्यका साथ तालिम तथा विभिन्न खोप कार्यक्रम भएको दिनमा मात्र दैनिक २० रुपैयाँ भत्ता लिएर सेवा सुरु गरेको उनी बताउँछिन् ।   

‘२० वर्षअघि धेरै गर्भवती महिलाहरुलाई भिटामिन खुवाउनेदेखि स्याहार–सुसारसम्मका काम गर्यौँ,’ उनले भनिन्, ‘यतिसम्म थियो कि, गर्भवतीले हरियो साग खाएमा रतन्धो हुन्छ भन्ने अन्धविश्वास भएका वेला हामीले काम सुरु गरेको हो ।’ तर, राज्यले आफूहरुको काम चिन्न नसकेको उनको गुनासो छ ।  

‘गाउँमा धेरैलाई सम्झाउन गाह्रो हुन्थ्यो । खोप लगाए घाउ बन्छ, गर्भ जाँच गरे लाज हुन्छ भन्दै स्वयंविकालाई गाउँमा जानै दिँदैनथे,’ आफूले काम सुरु गर्दाको अवस्था स्मरण गर्दै उनले भनिन्, ‘ठूलै डाक्टर भएर आई, हामीलाई सिकाउने बहानामा कामै बर्बाद पारी भन्दै रिसाउँथे ।’  

३२ वर्षसम्म वर्ष महिला स्वाथ्य स्वयंसेविका भएर उनले आफ्नो टोलमा सेवा गरिरहेकी छन् । अझै पनि गाह्रो–अप्ठ्यारो पर्दा नगरपालिकालगायत टोल समाजले सम्झने गरेको उनले उल्लेख गरिन् । 

राज्यले महिला स्वयंसेविकाको काम देख्न नसकेको धनगढी उपमहानगरपालिका–२ की स्वास्थ्य स्वयंसेविका अम्बिका भण्डारीले गुनासो गरिन् । ‘समस्या परेको वेला राज्यले स्वयंसेविकाद्वारा काम गराउने, तर सेवा–सुविधा दिन नसक्ने,’ उनले भनिन् । 

२० वर्षदेखि स्वास्थ्य स्वयंसेविकामा काम गरिरहेकी अम्बिका स्थानीय सरकार आएपछि पनि माग सम्बोधन हुन नसकेको बताउँछिन् दुई दशक लामो समय उनले गाउँटोलका नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन उल्लेख्य भूमिका निर्वाह गरिन् । तर, दिनरात सेवामा खटिए पनि राज्यबाट भने त्यसको मूल्यांकन नभएको गुनासो उनको छ ।



धनगढी उपहामगरपालिका–३ मञ्जु जोशी ०५६ सालदेखि स्वयंसेवी भएर काम गर्न थालिन् । दिनरात खटिए पनि कामअनुसारको सेवा–सुविधा नपाएको उनले बताइन् । ‘यति धेरै वर्षसम्म हामीले निःशुल्क काम गर्यौं,’ उनले भनिन्, ‘अब अवकाश हुँदा राज्यले केही रकम दिएर खुसीका साथ बिदाइ गरोस् भन्ने अपेक्षा छ ।’ महिला स्वास्थ्य स्वयंसेविका भएर काम गर्न ६० वर्षको उमेरहद ताकिएको छ ।

धनगढी–२ की विन्दु चन्द पनि राज्यले आफूहरूका लागि निःशुल्क औषधि उपचारको व्यवस्था गरिदिए राम्रो हुने बताउँछिन् । जीवनको झण्डै २७ वर्ष स्वयंसेविकाको रूपमा काम गरेकी उनले बिरामी हुँदा औषधि–उपचारको निःशुल्क व्यवस्था गरिदिन माग गरिन् । अहिले महिला स्वास्थ्य स्वयंसेविकाले भिटामिन खुवाउने दिन र यस्तै अन्य कार्यक्रम परेका दिन दिनको चार सय रुपैयाँ पाउँछन् । वार्षिक पोसाक भत्ता भनेर ८ हजारबाहेक अरु केही नपाएको शाहीको भनाइ छ । ‘अरु कर्मचारीले अवकाश हुने बेलामा पेन्सन पाउँछन्’ उनले भनिन्, ‘तर, हामीलाई जाने बेलामा औषधि उपचार खर्च मात्र दिए पनि राम्रो हुुन्थ्यो ।’



चित्रा, अम्बिका, मञ्जु र विन्दु मात्र होइन, कैलालीलगायत सुदूरपश्चिमका रहेका ६ हजार ३७ जना महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो उस्तै छ । दिनरात नभनी काम गरे पनि राज्यले अहिलेसम्म आफूहरूका लागि खासै केही नगरेको उनीहरू बताउँछन् ।

भिटामिन खुवाउने, खोप लगाउनेदेखि सबै स्वास्थ्यसम्बन्धी काममा नागरिकले सबैभन्दा पहिले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्झछन् । कोही बिरामी भयो कि, भिटाभिन खान छुटाए कि भनेर उनीहरू घरदैलोसमेत गर्छन् । गर्भवती तथा सुत्केरीलाई भेट्ने, शिशुको स्वास्थ्य अवस्थाको बारेमा बुझ्ने र स्वास्थ्य संस्थासम्म पुर्याउने काम पनि गर्दै आएका छन् । तर, काम गरेको दिनको खाजा र दिनको चार सय भत्ताबाहेक अरु केही नपाएको भन्दै उनीहरूले सरकारसँग विगतदेखि नै गुनासो गर्दै आएका छन् । उनीहरूले धेरै नभए पनि राज्यले प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन् ।

  • प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार १९:५३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया