बंगलाचुली गाउँपालिका ३ र ४ को सामुदायिक वनको ३२.२ हेक्टर क्षेत्रफलमा घोराही सिमेन्ट उद्योग प्रालिले २०६९ साल असोज १२ गतेदेखि चुनढुङ्गगा उत्खनन् गरिरहेको छ । उत्खननका कारण चुनढुङ्गगा खानी खण्डहर बन्दै गइरहेको छ । आठवर्ष अघि हरियो जंगल देखिने तापाको चुनढुङ्गगा खानी अहिले ढुङ्गगै–ढुङ्गगाको सुख्खा क्षेत्रमा परिणत भएको छ ।
खानी उत्खननले वन मात्रै होइन गाउँ समेत उजाडिन थालेको छ । उत्खननका कारण धुँवाधुलो, पानीका मुहान सुक्दै जाँदा स्थानीयहरू समस्यामा पर्दै गएका छन् । सरकार राजस्वमात्रै हेर्छ, समस्या कसले सुनिदिने ? स्थानीयले गुनासो गरे ।
उत्खननका कारण पहाड पनि सकिँदै छ । ‘दिनभर सयौं टिप्पर दौडिन्छन्, धुवाँधुलो उस्तै छ । पानीका मुहान सुक्न थाले उत्खनन जारी छ । त्यसको वास्ता कसैलाई छैन’, स्थानीय मधुसुदन पुनले भने, ‘उत्खननले वरपरका बस्तीमा समस्या थपिँदै गएको छ ।’
उत्खनन् क्षेत्रमा तल्लो तापा, माथिल्लो तापा, जुम्लेपानी, म्यालडाँडाँ र पन्तटोल गरी पाँचगाउँ थिए । जहाँ करिब साढे दुई सय घरधुरीको बसोबास थियो । उत्खननका कारण बस्ती विस्थापित भएको उनको भनाइ छ । उनले थपे, ‘बस्तीको नाम त छ, तर घरधुरी थोरै छन् ।’ उत्खननले खानेपानीका मुहान, गाईवस्तुको चरिचरण, धुवाँधुलो लगायतका समस्या थुपार्दै ल्याएपछि बस्ती छोड्न बाध्य समेत हुनु परिरहेको उनले सुनाए ।
‘खानीले बस्ती खायो’
‘यहाँ केही छैन, पानी सुकि सक्यो, वनजंगल छैन, घाँस दाउरा त्यसै हरायो, झन पछि झन पहाड उजाडिँदै छ । धुँवाधुलो एक मिनेट रोकिँदैन । धुँवाधुलोले बारीका सागपात समेत खान पाइँदैन । खानी पायौं भन्या तँ, हामीलाई खान पो आएको रहेछ’, स्थानीय शिवराज रावतले भने, ‘खानीले बस्ती खायो, हाम्रो बिजोग छ । गाउँलेहरू बिरामी परिरहेका छौं ।’
खानी क्षेत्रमा करिब तीनसय घरधुरीको बसोबास रहे पनि अहिले २०-२५ घरधुरीले बस्ती छोडिसकेको उनले सुनाए । कतिपय जग्गा उद्योगले खरिद नगरिदिँदा पानीको अभाव भोग्दै, धुलोधुवाँ खाँदै बस्नु परिरहेको उनले सुनाए । उद्योगले खानी प्रभावितहरूको जग्गा खरिद गरिदिए । धुलोधुँवा मुक्त जीवन बिताउने उनको भनाइ छ ।
‘सहमति कार्यान्वयन गर !’
उत्खननका क्रममा उब्जिएका समस्या सम्बोधनका लागि उद्योग र स्थानीयहरू बीच भएको सहमति र सम्झौता बेगर कुनै काम हुन नसक्ने बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए । उद्योगले दैनिक सडकमा पानी हाल्ने, खानी प्रभावितहरूका लागि खानेपानीको व्यवस्थापन गर्ने, स्थानीयलाई रोजगार दिने सहमति भए पनि त्यो सहमति कार्यान्वयन गर्न नसकेको उनको आरोप छ ।
उनले, ‘सडकको धुवाँधुलोदेखि उत्खननसम्मको सहमति र सम्झौता बेगर कुनै काम हुनुहुँदैन ।’ जसका लागि गाउँपालिकाले बारम्बार उद्योगसँग छलफल गरिरहेको सुनाए ।
उत्खनन् अझ बढ्दै
घोराही सिमेन्ट उद्योग प्रालिले हालको ३२.२ हेक्टरसहित दाङमा १०९ दशमलव ५४५ हेक्टर क्षेत्रफल उत्खनन् गर्ने प्रक्रियामा रहेको डिभिजन वन कार्यालय दाङको तथ्याङ्कमा छ । त्यस्तै सम्राट सिमेन्टले बंगलाचुली–५ मा पाँच हेक्टर र शुभश्री अग्नि सिमेन्टले ४.९७ हेक्टर उत्खनन् गर्ने प्रक्रिया थालनी गरेका छन् । त्यस्तै स्वर्गद्वारी माइन्सले घोराही–१९ मा पाँच हेक्टर र ओमप्रकाश भट्टराईले ४ हेक्टर प्रस्ताव पेस गरेका छन् । दाङ सिमेन्टले दाङका विभिन्न स्थानमा ५८.३७५ हेक्टर उत्खननको अनुमति प्राप्त गरेको छ ।
घोराही सिमेन्ट उद्योगले ३२.२ हेक्टर उत्खनन गर्दा त खानी प्रभावितहरूले यस्तो समस्या भोग्नु परेको छ भने यी क्षेत्र उत्खनन सुरु भए दाङमा ठूलो वातावरणीय असन्तुलनको मार खेप्दै धुलैधुलो सहर बन्ने घोराही–१५ निवासी जगतराम गौतमले बताए ।
अध्ययन अवलोकन छैन
उत्खनन क्षेत्रको अध्ययन अवलोकन सरकारले गर्ने गराउने सहमति भए पनि तापा खानीका वर्ष दिन यता सरकारी उपस्थिति छैन । जसका कारण उद्योगले मनपरि काम गरिरहेको छ ।
विभाग मन्त्रालयको अनुगमन टोली नआउँदा खानी क्षेत्रमा उद्योगको मनपरि चलेको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले बताए । जसका कारण स्थानीयका तमाम गुनासा ज्युँका त्युँ रहेको उनले बताए । उनले भन्ने, ‘डिभिजन वनलाई उद्योग टर्दैन, मन्त्रालय विभागको टोली आउँदैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।