सरकारले कोरोनाविरुद्धको खोप आयात गर्ने चर्चासँगै १० जना नागरिक अगुवाले कोरोना खोप आयात गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन सरकासँग माग गरेका छन् । यसले महामारी नियन्त्रणमा बल पुग्ने मात्रै नभई सरकारको विश्वसनीयता बढ्ने पनि उनीहरुले बताएका छन् ।
मंगलबार प्रेसविज्ञप्ति जारी गर्दै नागरिक १० जना नागरिक अगुवाहरुले सरकारसँग यस्तो आग्रह गरेका हुन् । यसरी आग्रह गर्नेमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, महेशकुमार उपाध्याय, सुरेशराज शर्मा, विद्याधर मलिक, अनुराधा कोइराला, विमल कोइराला, नोवेलकिशोर राई, मोहना अन्सारी, रमेश खरेल र केदारभक्त माथेमा छन् ।
विश्वव्यापी कोभिड–१९ महामारीले सिर्जना गरेको चौतर्फी संकट र निराशाबीच पछिल्लो समय भ्याक्सिन विकास, परीक्षण र वितरणसम्मका समाचारहरु आइरहेसँगै महामारीबाट मुक्ति पाउन सकिने आशा जागेको उल्लेख गर्दै विज्ञप्तिमा नेपालले आफैँ भ्याक्सिन विकास नगरेकाले भ्याक्सिन खरिद, आयात र वितरणको विषय अहिले महत्वपूर्ण बनेको उनीहरुले बताएका छन् ।
‘राज्यका लागि ठूलो आर्थिक र व्यवस्थापकीय भार पर्ने यो काम सामयिक, चुस्त र प्रभावकारी हुन सके हामीले पनि छिट्टै यो महामारीको संकटबाट पार पाउन सक्नेछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतिर महामारी नियन्त्रणको प्रारम्भिक चरणमा झैँ अब पनि अव्यवस्था र अनियमितताहरु भए भने त्यसले यो संकटलाई झनै लामो बनाउन सक्नेछ ।’
त्यसैले उनीहरुले भ्याक्सिन छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन तथा त्यसका लागि समयमै उचित गृहकार्य गर्न सरकारलाई अपिल गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।