सेयर धितो कर्जामा कडाइ गर्दै राष्ट्र बैंक, एक व्यक्तिले ५० लाखसम्म मात्र ओडी पाउने

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा अत्यधिक कर्जामा प्रवाह हुन थालेपछि राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै सेयर धितो कर्जामा कडाइ गरेको हो ।

केही समयअघि राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको सिमा नै घटाउने संकेत गरेको थियो । त्यसको प्रभाव सेयर बजारमा परको भन्दै विभिन्न क्षेत्रबाट विरोध भएपछि केन्द्रीय बैंकले अर्को बाटो अपनाएर कर्जामा कडाइ गरेको हो ।

नयाँ व्यवस्था अनुसार पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेको संस्थाको सेयरमा ऋण दिन पाइने छैन । व्यावसायिक रूपमा सञ्चालनमा आएको एक वर्ष नकटेका संस्थाहरुको सेयरमा पनि कर्जा दिन पाइने छैन । 

यसैगरी विगत तीन वर्षदेखि साधारणसभा नगरेका कम्पनीको सेयर धितोमा समेत कर्जा दिन नपाइने निर्देशनमा उल्लेख छ  । साथै, कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाको सेयरमा पनि कर्जा दिन नपाइने एकीकृत निर्देशनमा उल्लेख छ ।

साथै, सेयर धितोमा कर्जा प्रवाह गर्दा ऋण दिने संस्थाले कुन कम्पनीको सेयरमा कर्जा दिएको त्यसको मूल्य आम्दानी अनुपात, बुक भ्यालु, लाभांश इल्ड, लाभांश भुक्तानी अनुपातजस्ता आधारभूत सूचकांकको विश्लेषणसम्बन्धी व्यवस्थासमेत स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।

यसैगरी अबका दिनमा ऋणीको नाममा रहेको सेयर रोक्का राखेपछि मात्र कर्जा प्रवाह गर्न पाइने भएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले सेयर खरिदका लागि लिमिट दिएर अग्रिम कर्जा प्रवाह गर्दै आएका थिए ।



यसैगरी, पछिल्लो समय व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट) शीर्षक अन्तर्गत प्रवाह गरेको कर्जा दुरुपयोग भएको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले त्यस्ता कर्जामा समेत कडाइ गरेको छ । एउटै व्यक्तिले धेरै बैंक तथा वित्तीय संस्थाबाट ५० लाखको सीमाभित्र रहेका ओभरड्राफ्ट कर्जा लिएको भन्दै अबका दिनमा बढीमा ५० लाख रुपैयाँसम्म यस्तो कर्जा लिन पाइने व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार आगामी दिनमा एउटा व्यक्तिको ओडी कर्जा सबै बैंक तथा वित्तीय संस्थामा गरेर ५० लाखभन्दा बढी हुनेछैन । 

यदि अबका दिनमा ऋणीले विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी ५० लाख रुपैयाँभन्दा बढी ओडी कर्जा लिएमा २०७८ असार मसान्तसम्म यसलाई ५० लाख रुपैयाँको सीमाभित्र झारिसक्नु पर्ने हुन्छ ।



  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार १३:३७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया