बाजुराको बडिमालिकामा ३४० परिवारलाई राहत वितरण

गत साउनमा आएको बाढी र पहिरो प्रभावित परिवारलाई आज खाद्यान्न र लत्ताकपडा उपलब्ध गराइएको छ । मानवीय सेवामा अनेकौँ प्रयासको सहयोग र बडीमालिका नगरपालिकाको समन्वयमा नगरपालिकाका ३४० परिवारलाई चामल, तेल, दाल र ओढ्ने ओछ्याउने वितरण गरेको सामाजिक अभियन्ता भक्तराज जोशीले बताए । 

गत साउन २५ गते राति आएको अविरल वर्षासँगै बाढी र पहिरोबाट पीडितलाई नगरपालिकाको २, ४, ५, ६, ८ र ९ वडाका गरी ३४० परिवारलाई खाद्यान्न सहयोग गरेको नगरपालिकाका प्रमुख पद्म बडुवालले बताए । बाढी र पहिरोबाट पीडितको अवस्था नाजुक भएकाले मानवीय सेवास्वरुप संस्थाले खाद्यान्नसहित सामग्री सहयोग गरेको नगर प्रमुख बडुवालले जानकारी दिए ।

नगरपालिकाका ६ वटै वडामा रहेका बाढी र पहिरोबाट पीडित ३४० परिवारलाई प्रति परिवार तीन केजी दाल, २५ केजी चामल, एक लिटर तेल, म्याट्रिक्स एक थान र ब्लाङ्केट एक थान हस्तान्तरण गरेको नगरपालिकाका उपप्रमुख कविता विष्टले जानकारी दिए । 

बाढी र पहिरो पीडित बनेका चौराटा, मार्तडी, भौनेरा, घागर, रापक, जडांगा, रिला, मना र कोर्ध र ओलेनाका बाढी पीडितलाई उक्त सामग्री नगरप्रमुख पद्म बडुवालले हस्तान्तरण गरेका थिए ।

बुढीगङ्गा नदीमा आएको बाढीका कारण विस्थापित बनेका पीडित परिवारको वडाले सङ्कलन गरेको लगतपछि नगरपालिकाको समन्वयमा उक्त संस्थाले राहत सामग्री वितरण गरेको हो । बाढी र पहिरोबाट विस्थापित र प्रभावित बनेका नरपालिकाका स्थानीयवासीले उक्त सहयोगले राहत पुगेको बताएका छन् । पीडित परिवारले खाद्यान्नलगायत सामग्री दिएपछि पीडामा मलम लागेको प्रतिक्रिया दिएका छन् । 

राहत सामग्री वितरण तथा हस्तान्तरण कार्यक्रममा नगरप्रमुख पद्म बडुवालले बाढी र पहिरोबाट प्रभावित भएका पीडित परिवारलाई नगरपालिकाले हरेक सङ्घसंस्थासँग समन्वय र सहकार्य गरेर राहत उपलब्ध गराउने बताए । उनले बाढी र पहिरो पीडित परिवारका लागि नगरपालिकाका जनप्रतिनिधिको भत्ता र कर्मचारीले दिएको तलबको केही रकमबाट समेत राहत नपाएका परिवारलाई छिट्टै राहत वितरण गर्ने प्रतिबद्धता जनाए ।



नगरपालिकाका नागरिकको समस्या र बाढीपहिरो पीडितका लागि उत्तरदायी बन्दै गएको नगर उपप्रमुख कविता विष्टले बताइन् । उनले नगरका नागरिकको मागलाई सम्बोधन गर्न नगरपालिका तयार रहेको बताइन् । विपद्का बेलामा सबैले जिम्मेवार बन्नुपर्नेमा उपप्रमुख विष्टले जोड दिइन् ।



  • प्रकाशित मिति : पुस ४, २०७७ शनिबार २०:५९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया