वामदेवले बादललाई भने : मन्त्रीबाट राजीनामा दिएर आउनु, सँगै जाउँला
पार्टी विभाजनमा केपी, प्रचण्ड र माधव उत्तिकै दोषी

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजित भइरहँदा निर्णायक भूमिकामा रहेका दुई नेता वामदेव गौतम र रामबहादुर थापा 'बादल' मौन बसेका छन्। पछिल्लो समयमा पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिएका वामदेव र प्रधानमन्त्री केपी  शर्मा ओलीलाई साथ दिएका बादल पार्टी विभाजित भइरहँदा तटस्थ बसेका हुन्।

यसअघि नेकपामा देखिने गम्भीर विवादको बेला निर्णायक भूमिका खेल्ने यी दुवै नेता अहिले केबल रमिते मात्रै बनेका छन्। दुवैले पार्टी विभाजनलाई रोक्नेतर्फ आफ्नो भूमिका पनि निर्वाह गरेनन्। मंगलबार पार्टी विभाजन भइरहँदा वामदेवलाई भेट्न बादल भैंसेपाटी पुगेका थिए। 

नेकपा दुई चिरा भइरहँदा यी दुईजना नेता मिलेर तेस्रो धार निर्माणको कोसिस भइरहेको चर्चा पनि मंगलबार चल्यो। तर भैँसेपाटीमा करिब २ घण्टासम्म भएको संवादका क्रममा उनीहरुबीच कुरा मिल्न नसकेको स्रोतले जनाएको छ।

ओली-प्रचण्डले दुवै नेतालाई फकाएर आफ्नो समूह ल्याउन सक्दो कोसिस गरेका थिए। सानैदेखिका सहयात्री बादललाई आफ्नो समूहमै राखेर प्रचण्ड ओलीलाई झट्का दिन चाहन्थे। उता ओलीले पनि प्रचण्डको सहयात्रीलाई खोसेर आफ्नो पोल्टामा पार्ने सक्दो कोसिस गरेका थिए। 

तर अन्तिम समयमा दुवै नेता तटस्थ बसेपछि ओली-दाहाल निराश भएका छन्। नेकपाभित्र राम्रो जनमतसहित तटस्थ बसेका दुई नेताबीच मंगलबार लामो  संवाद भएको छ। वामदेव निवास भैँसेपाटीमा दिउँसो २ बजेदेखि भएको  उक्त संवादमा फुटिसकेको अवस्थामा नेकपालाई एकै ठाउँमा ल्याउने कुरामा दुवै नेता सहमत भए। तर बादलको भूमिकालाई लिएर वामदेवले प्रश्न उठाएपछि कुरो मिल्न नसकेको स्रोतले जनाएको छ। 

बादलले सुरुमा वामदेवलाई आफू ओली-प्रचण्ड दुवै समूहमा नजाने कुरा सुनाएका थिए। उनले अहिले विभाजित भए पनि ढिलो चाँडो नेकपा फेरि एक हुने कुरा वामदेवलाई सुनाएका थिए। 'प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिगामी कदम चालेको अवस्था छ, यो सच्चिनुपर्छ। अहिले मेरो अडान यही हो, म कुनै समूहमा जान्‍न', वामदेवसँग बादलको भनाइ उद्धृत गर्दै  स्रोतले भन्यो, 'तपाईं र मिलेर पार्टीलाई एक बनाउने अभियानमा लागौं।'
 
छलफलका क्रममा बादलले प्रचण्डसँगको समस्या कारण आफू उक्त समूहमा नगएको बताएका थिए। तर प्रचण्डसँग कुरा बिग्रिए पनि आफू तत्कालै ओली समूहमा पनि नमिसिने जानकारी वामदेवलाई दिएका छन्। 



बादलको उक्त प्रस्तावमा वामदेवले आशंकासहित समर्थन जनाएका थिए। उनले प्रस्ताव सही भए पनि बादलको भूमिकालाई लिएर प्रश्‍न पनि उठाएका छन्। संवादका क्रममा वामदेवले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम गलत पनि भन्‍ने तर सरकारमा चाहिँ बसिरहने कुराले दोहोरो चरित्र पुष्टि भएको भन्दै  बादलमाथि प्रश्‍न उठाएका थिए। 

'अबको मेरो अभियान भनेको एकता पक्षधरहरुलाई संगठित गरेर अगाडि बढ्छु। तर तपाईंको दोहोरो चरित्र सच्चिनुपर्छ। मन्त्रीबाट राजीनामा दिएर नआएसम्म हामी सँगै अघि बढ्न सक्दैनौँ', वामदेवले बादलसँग भने, 'ढिलो चाँडो एकता भइजान्छ। संसद पुनःस्थापना भयो भने एकताको कुरा झन् छिटो हुन्छ। यसमा म विश्वस्त छु तर तपाईंले मन्त्री पद नत्यागेसम्म सहकार्य हुन सक्दैन।'



गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले दुई नेता अहिलेको अवस्थामा तटस्थ रहे पनि एउटै लाइन नभएको  बताए। 'बादल र वामदेवको एउटै लाइन होइन, वामदेवले जवजवादीहरुबीच एकता अभियान चलाउने हो', गौतमको भनाइ उद्धृत गर्दै सुवेदीले भने, 'अब कुनै गुटमा गएर त्यसको स्वामित्व लिनु भन्दा तटस्थ बसेर एकता अभियानमा लाग्छु।'

सबै गलत हुन्

छलफलका क्रममा वामदेवले एकता अभियान चलाउन सबै जनासँग छलफल गरिसकेको बताएका थिए। उनले नेकपा विभाजन हुनमा केपी  ‌ओ‌लीसँगै प्रचण्ड र माधव नेपाल पनि उत्तिकै दोषी रहेको बताएका थिए। 'मैले सबैसँग सल्लाह गरिसकेको छु अब एकता अभियान नै चलाउने हो। नेकपा फुट्नुमा केपी ओली दोषी हुन्, उनीसँगै प्रचण्ड पनि उत्तिकै दोषी छन्। यी दुईजना र माधवसहितले पार्टी फुटाएका हुन्', वामदेवले भने, 'अब मेरो भूमिका भनेको पार्टीलाई कमभन्दा कम क्षति हुन दिने हो। अहिले पूर्व एमालेलाई धेरै क्षति भएको छ। पूर्व माओवादी त संगठित भइसकेका छन्।'

वामदेवले यो विभाजनले माओवादीलाई खासै फरक नपारेको पनि बताएका थिए। 'खास चिरा त पूर्व एमालेमा परेको छ नि', उनले भने, 'पूर्व माओवादीहरू  त ९५ प्रतिशत एकै  ठाउँमा आइसकेका छन्। अझै उनीहरु संगठित हुन्छन्। केपी ओली र माधव नेपालका कारण पूर्व एमाले विभाजित हुन पुग्यो। तर म अब एकता अभियानबाट फेरि जुटाउँछु।'

  • प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार १९:१६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया