काठमाडौँ महानगरपालिकाले ढाका र इस्लामावादसँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले यसबारे जानकारी दिएका हुन् । जुम्लाको चन्दननाथ नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
जुम्ला पुगेका मेयर शाक्य र चन्दननाथ नगर प्रमुख कान्तिका सेजुवालले औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी स्थापना गरेका हुन् । दुई नगरका जीवन्त संस्कृति, सम्पदा, पर्यटकीय र पर्यावरण क्षेत्रको संरक्षण, प्रवर्द्धन, विकास एवं प्रचारप्रसारमा सहकार्य गरिने कामपा प्रमुख शाक्यले बताए ।
उनले भने, ‘काठमाडौँमा धेरै मूर्त तथा अमूर्त संस्कृति, सम्पदा छन् । मानवनिर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर र कर्णालीको दुर्गम नगरपालिका चन्दनथानबीच भगिनी सम्बन्ध स्थापना गर्नु आफैँमा सकारात्मक छ ।’
प्रकृति र पर्यावरणको समुचित सन्तुलनविना मानव समाजको अस्तित्व नै संकटमा पर्न सक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य, ठोस योजना तथा नतिजामुखी क्रियाकलाप सञ्चालनका लागि साझेदारी गर्न भगिनी सम्बन्ध स्थापना गरेको उनले बताए ।
महानगरले यसअघि चीन एवं अन्य मुलुकका १६ सहर तथा स्वदेशका सिन्धुपाल्चोकको मेलम्ची र परासीको रामग्राम नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरी केही साझेदारीका काम अघि बढाएको छ ।
कामपाले विश्वका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको स्मरण गराउँदै शाक्यले सङ्घीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाइएको बताए ।
चन्दननाथसँग भगिनी सम्बन्ध स्थापनाले जुम्लामा उत्पादित बहुमूल्य जडिबुटी, स्याउ, सिमी, ओखरलगायत प्राङ्गारिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन आदि विषयमा सहकार्य हुने जनाइएको छ ।
चन्दनथानका प्रमुख सेजुवालले स्रोतसाधनले सम्पन्न कामपासँग भगिनी सम्बन्ध स्थापना गर्न पाएकामा नगरवासी खुसी रहेको बताए । भगिनी सम्बन्ध स्थापना गर्दै कामपाले चन्दननाथलाई रु डेढ करोड सहयोग गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको जनाइएको छ । कामपा उपप्रमुख हरिप्रभा खड्गी तथा विभागीय प्रमुखसहितको टोली जुम्ला पुगेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।