नेकपामा फुट : ओली समूहमा जाने तयारीमा बादल
बालुवाटार वार्ता सकारात्मक

काठमाडौं : सत्तारुढ नेकपा विभाजित भइसक्दासम्म तटस्थ बसिरहेका नेता रामबहादुर थापा 'बादल' केपी ओली  नेतृत्वको समूहमा जाने भएका छन्। बुधबार बालुवाटारमा प्रधानमन्त्री ओलीसँग करिब डेढ घण्टासम्मको सम्वादपछि बादलले उक्त निर्णय लिएका हुन्। 

गृहमन्त्रीसमेत रहेका बादलको सचिवालयले ओलीसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको जानकारी दिएको छ। उता प्रधानमन्त्रीका एकजना सहयोगीले दुई नेताबीचको संवाद परिणाममुखी भएको बताएका छन्। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पनि पटक पटक बादललाई आफूतर्फ तान्‍न खोजेका थिए। तर बादलले ओली समूहतर्फ जाने निर्णय लिएको स्रोतले जनाएको छ।

बिहान साढे ११ बजे बालुवाटार छिरेका बादल र प्रधानमन्त्री ओलीबीच करिब डेढ घण्टा एक्ला एक्लै संवाद भएको थियो। नेकपा उपाध्यक्ष वामदेव गौतमसहित तटस्थ बसिरहेका बादललाई केही सांसद र केन्द्रीय नेताहरुको पनि साथ छ। नेकपामा बादल र वामदेव समूहसहित शक्तिमा रहेका नेताका रुपमा चिनिन्छन्। बादललाई ओलीले आफ्नो समूहमा राम्रो भूमिका दिएर ल्याउने तयारी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ। 

स्रोतका अनुसार गृहमन्त्रीसमेत रहेका बादललाई भेटका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो समूहमा आउन आग्रह गरेका थिए। गृहमन्त्री बादलका प्रेस सल्लाहकार किरण भट्टराईले पनि दुई नेताबीच एक्ला एक्लै बालुवाटारमा संवाद भएको पुष्टि गरेका छन्। 

नेकपा विभाजित भइरहँदा मंगलबार बालुवाटारमा भएको ओली पक्षको र बबरमहलमा भएको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा बादल सहभागी थिएनन्। उनीसँगै  गौतमले पनि दुवै गुटको भेलामा सहभागिता जनाएका छैनन्।

मंगलबार बादलले भैंसेपाटी पुगेर वामदेवलाई भेटेका थिए। जहाँ उनीहरुबीच पार्टीलाई पुन: एकीकृत गर्नेबारे छलफल भएको थियो। तर दुवै जनाबीच मतभेद रहेकाले कुरा मिल्न सकेको थिएन। वामदेवले पहिले गृहमन्त्रीबाट राजीनामा दिएर आएपछि सहकार्य गर्ने अडान राखेका थिए। 



तर बादलले वामदेवसँगको संवादमा आफू प्रचण्डसँग सहकार्य गर्न नसक्ने अवस्थामा रहेको बताएका थिए। उनले प्रचण्डसँग यसअघि नै समस्या रहेकाले त्यतातर्फ नजाने बरु पार्टीलाई फेरि एक बनाउने अभियानमा लाग्‍ने अडान लिएका थिए। 



  • प्रकाशित मिति : पुस ८, २०७७ बुधबार १९:८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया