खेलकुदको जग्गा, वर्षौंदेखि कब्जा
खेलकुद विकास सिमित दाङको नाममा रहेकाे जग्गा किनबेच गर्दा बनाइने गरेको लिखत र साेही जग्गामा निर्मित घर । तस्बिर : फरकधार

‘लिखितम दाङ घोराही उपमहानगरपालिका १ सिमलतारा बस्ने बनिराम रावतका छोरा वर्ष २५ का दिलबहादुर रावत ऋणिका नाम दाङ घोराही उपमहानगरपालिका १ बस्ने टीकाराम गिरीका छोरा वर्ष ५४ का युवराज गिरीले लिखत गत चलन अनुसारको तीनलाख रुपैयाँ कर्जा लिएको ठिक साँचो हो । सोही रुपैयाँ लिए वापत म ऋणी युवराज गिरीले भोग चलन गर्दै आएको १२ हात चौडाइ, ४४ हात लम्बाइको घडेरीमा एकतले कच्ची गोठसमेत तपाईं साहुलाई दिने मनसाय भएकाले गाउँघरका भद्रभलादमीहरू बोलाई तपाईं साहुलाई दिन यो कागज लेखाई गरिदिएँ । साक्षी किनारमा सदर छन् । इति सम्वत २०७७र६र२१ गते रोज ४ शुभम् ।’ 

यही कागजका आधारमा जग्गा किनबेच हुन्छ । जुन जग्गा जिल्ला खेलकुद विकास समितिका नाममा छ । यो एउटा उदाहरण मात्रै हो ।

घोराही उपमहानगरपालिका १ सिमलतारामा दाङ जिल्ला खेलकुद विकास समितिको नाममा ४५ बिघा जग्गा छ । जसको भोगाधिकार लिन कहीं जानु पर्दैन, तिरोतिर्न पनि कतै जानु पर्दैन, न किनबेच गर्दा पास गर्न कतै जानु पर्छ । बस् गाउँले त्यो जग्गाको सबथोक हुन् । वर्षौंदेखि यो क्रम चल्दै आइरहेको छ । जग्गा सरकारी हो, मालिक गाउँले हुन् । जसको मालपोतदेखि नापीसम्मको काम जसले अतिक्रमण गरेको छ, उसैले आफैं गर्छ ।

स्थानीय शोभाराम महराले भने, ‘जग्गा खेलकुदको हो, जसले भोगचलन गर्छ उसैले बेच्छ । तीनदेखि दस लाखसम्म खरिद बिक्री हुन्छ ।’ महराले पनि पाँच वर्षअघि स्थानीय पूर्ण मल्लसँग ३ लाख ५ हजार रुपैयाँमा एउटा घडेरी खरिद गरेको बताए । उनले पनि गाउँमै कागजात गरी पैसा बुझाए । त्यही कागजातको भरमा त्यो घडेरी महराको भयो । उनले थपे, ‘गाउँका जान्ने बुझ्नेहरू बस्छन्, कसले किन्ने रु कसले बेच्ने सही छाप गर्छन् ।’ यसरी यहाँको जग्गा घडेरी, खेत र चौरको किनबेच चलिरहेको छ ।

अहिले समितिको जग्गामा बजार नै बसिसकेको छ । जसलाई सिमलतारा बजार भन्ने गरिन्छ । बजारका कारण जग्गा अतिक्रमण गर्ने र किनबेचमा चल्ने गरेको उनले सुनाए । उनले थपे, ‘आफ्नो घरबास भएकाहरूले पनि पुर्जाको जग्गा बेच्दै, समितिको जग्गा किन्दै गर्छन् ।’ जसका कारण समितिको जग्गा अतिक्रमण मात्रै होइन माफियाको कब्जामा समेत पर्दै आइरहेको छ ।

आफ्नो बेच्दै खेलकुदको हडप्दै



खेलकुद विकास समितिको ४५ बिघा जग्गामध्ये । अधिकांश खेतका फाँट, केही खाली चौर छ र केही घरघडेरी बनेका छन्, तर सबै अतिक्रमणमा । खेलकुदको जग्गामा सुकुम्बासीहरू होइन स्थानीय हुकुम्बासीको बोलबाला छ । स्थानीय एक व्यक्तिले भने, ‘मेरो नाम लेख्नुहोला । पुर्जावाला जग्गा महँगोमा बेच्दै, सस्तोमा खेलकुदको जग्गा किन्दै बस्दै गरिरहेका छन् ।’ यहाँका गरिब गुरुवाहरू भन्दा पनि हुने खाने, पढलेख गरेका व्यक्तिले जग्गा अतिक्रमण गर्दै बिक्री–वितरण गरिरहेका छन् । जसका कारण खेलकुदको जग्गामा हुनेखाने, टाठाबाठाहरूको राज चलिरहेको उनले बताए । जसका कारण झन् पछि झन् खेलकुदको जग्गा अतिक्रमणसँगै किनबेचको चपेटामा परेको छ ।

कसले रोक्ने ?



वर्षौंदेखि खेलकुद विकास समितिको जग्गा अतिक्रमणमा परेको छ । ठू–ठूल्ला पक्की संरचनाहरू बनेका छन् । कतै बन्ने तयारीमा छन् । अतिक्रमित क्षेत्रमै बजार बनिसकेको छ । जग्गा सरकारको, बेच्ने अर्कैले, पैसा जाने गरिब गुरुवाको भइरहेको छ । कसैले ऐलानी सरकारी जग्गा भनी किन्छन् । कसैले खेलकुदको भनी थाहा पाई–पाई किन्छन् । धेरैले लाखौं रुपैयाँमा जग्गामा लगानी गरिसकेका छन् । जसको फाइदा अतिक्रमण गर्नेले लिइरहेका छन् । गाउँले मालिक, गाउँले मालपोत, गाउँले नै नापीको काम जसले अतिक्रमण गरेको छ, उसैले गर्छ । महराले भने, ‘यहाँ यस्तै चलिरहेकै छ ।’

बेच्ने स्थानीय, किन्ने बसाइसराइ आउने

स्थानीय समितिले जग्गा अतिक्रमण गरी प्लटिङ गर्ने, बसाइ सरी आउनेले जग्गा किन्ने, मूल्य आफूखुसी गर्ने, तर किन्नेले गाउँले कागजातमा सही छाप गर्नुपर्छ । जे भने पनि प्रमाण त्यही कागज नै हो । अतिक्रमितहरूले जग्गा प्लटिङ गर्दै महंगोमा बेच्दै आइरहेकाले अहिले अतिक्रमण जग्गामा बसाइ–सराई गरी आउनेको संख्या बढ्दै गइरहेको छ । स्थानीय एक युवाले भने, ‘गाउँकाले बेच्ने, अन्यत्रका मान्छे आएर किन्छन्, घर बनाउँछन्, बजारमा बस्ती बिस्तारै बाक्लिँदै छ ।’

संरक्षणको पहल छैन

जिल्ला खेलकुद विकास समितिका नाममा ४५ बिघा जग्गा रहे पनि समितिले उक्त जग्गा संरक्षणका लागि कुनै पहल गर्न नसकेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । समितिले जग्गा संरक्षणमा चासो नदेखाउँदा वर्षौंदेखि जग्गा अतिक्रमण भएको उनले सुनाए । समितिले संरक्षणका लागि कुनै कदम चल्न नसक्दा जग्गा अतिक्रमणको मारमा परेको छ ।

यता जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष डिल्लीबहादुर डाँगीले प्रयास गर्दागर्दै पदाधिकारीको म्याद सकिएको बताए । जसका कारण जग्गा वर्षौंदेखि अलपत्र परेको र भूमाफियाको कब्जामा रहेको बताए । उनले भने, ‘जग्गा खेलकुदको हो, रजाई अरूको चलिरहेको छ ।’ तर स्थानीय सरकारले समितिको जग्गा संरक्षणका लागि चासो नदिँदा यस्तो अवस्था देखा परिरहेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार १७:५८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया