खुले सिनेमा हल : सञ्चालक सिडिओ कार्यालयमा छलफल गर्दै

नौ महिनाको लामो बन्दपछि शुक्रबारबाट नेपालभरका सिनेमा घर खुलेका छन् । कोरोना महामारीका कारण गत चैत्र ७ गतेबाट बन्द भएका सिनेमा हल सञ्चालनका लागि हल सञ्चालक तथा सिनेकर्मीहरूले सरकारी अनुमति कुरेर बसेका थिए । सरकारी अनुमति नपाएपछि चलचित्रकर्मी आफैंले सिनेमा हल खोलेका छन् । सरकारले भने कोरोनाको जोखिम कायमै रहेको भन्दै हल सञ्चालनका लागि अनुमति दिएको छैन ।

केही दिनअधि मात्रै कलाकार संघको भवन शिलान्यास गर्न पुगेका सञ्चारमन्त्री पार्वत गुरुङले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल हल खोल्न नसकिने बताएका थिए । कोरोना महामारीका कारण बन्द भएका सबैखाले व्यापार व्यवसाय सञ्चालन भैसक्दा पनि हल खोल्ने अनुमति नपाएका चलचित्रकर्मी निराश र आक्रोशित पनि थिए । कलाकारको यही मनस्थितिलाई मध्यनजर गर्दै नेपाल चलचित्र संघले हल खोल्ने निर्णय गर्यो । आजबाट खुलेका हलमा चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आएका छन् ।

तर, सरकारी अनुमतिबिनै हल सञ्चालन गर्दा सञ्चालकहरू कारबाहीमा पर्न सक्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउँछन् । कुनै पनि व्यवसाय सञ्चालन वा पुनः सञ्चालनका लागि सरकारको अनुमति लिनुपर्ने बताउँदै पराजुलीले भने, ‘कोरोना महामारी र प्रतिबन्धपछि सञ्चार मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वीकृत पाएका व्यवसाय मात्रै पुनः सञ्चालनमा आउन पाउने छन् । त्यसैले सरकारको आदेशबिना मापदण्ड पूरा नगरी हल सञ्चालन भएको पाइएमा कानुनबमोजिम कारबाही हुनसक्छ ।’

सरकारले चाहेको खण्डमा संक्रामक रोग ऐनमा टेकेर कारबाही गर्न सक्नेछ । ऐनमा कारबाही भए सञ्चालकहरूले ६ महिनाको कैद वा ६ सय रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यसैबीच, सिनेमा हल सञ्चालनमा आएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले छलफलका लागि भन्दै नेपाल चलचित्र संघलाई बोलाएको छ । जिल्ला प्रशासन कार्यालयमा आफूहरू छलफलका लागि उपस्थित भएको बताउँदै नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले छलफल सकारात्मक हुने आशा रहेको बताएका छन् । उनले आफूहरू अगाडि बढिसकेको भन्दै अब पछि नहट्ने पनि बताएका छन् । उनले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर हल सञ्चालन गरेको भन्दै डराउनु पर्ने अवस्था नरहेको बताएका छन् ।





  • प्रकाशित मिति : पुस १०, २०७७ शुक्रबार १३:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया