वामदेवलाई प्रचण्डको प्रस्ताव : महत्वपूर्ण पद दिन्छु, हाम्रो समूहमा आउनू
तर वामदेवको उत्तर : भोलिलाई ठाउँ राखेर गतिविधि गर्नू

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि तटस्थ बसिरहेका उपाध्यक्ष वामदेव गौतमले शनिबार बिहान पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेर भेटेका छन्। 

नेकपा विभाजित भएर दाहाल-नेपाल र ओली समूह बनेपछि प्रचण्डसँग वामदेवको संवाद भएको यो दोस्रो पटक हो। यसअघि पनि प्रचण्डले वामदेवलाई फकाउने कोसिस गरेका थिए।

खुमलटार बोलाएर प्रचण्डले आफ्नो समूहमा महत्वपूर्ण पदसहित आउन वामदेवलाई प्रस्ताव गरेका छन्। प्रेस सहयोगी विश्‍वमणि सुवेदीका अनुसार प्रचण्डको आग्रहमा उनी खुमलटार पुगेका हुन्। 

'भेटका क्रममा प्रचण्डलाई महत्वपूर्ण भूमिकासहित आइदिनुपर्‍यो भनेर प्रस्ताव गर्नु भयो', वामदेवको भनाइ उद्धृत गर्दै सुवेदीले फरकधारसँग भने, 'तर उहाँ अझै पनि आफ्नो अडानमा यथावत हुनुहुन्छ, उहाँले अहिले पनि एकतालाई नै जोड दिइरहनु भएको छ।'

प्रचण्डका कुरा सुनिसकेपछि वामदेवले एक दिन एकता हुनैपर्ने बताउँदै बरु भोलिलाई पनि ठाउँ राखेर अहिले गतिविधि गर्न सुझाव दिएका छन्। 'म अहिले कतै पनि जान्‍नँ, एकताकै पक्षमा छु र त्यही अभियानमा लागिरहन्छु', वामदेवले प्रचण्डसँग भने, 'बरु तपाईंहरु भोलिलाई एकताको स्पेश राखेर मात्रै आजको दिनमा गतिविधि गर्नुहोला। मलाई अहिले कतै जाने इच्छा छैन, मेरो प्राथमिकता एकता नै हो।'

नेकपा विभाजन हुने क्रममा तटस्थ रहेका एकजना प्रभावशाली नेता रामबहादुर थापा 'बादल' ओली समूहमा लागिसकेका छन्। तर वामदेव अझै पनि अनिर्णित भएर बसेका छन्। उनलाई मनाउन नेकपाका दुवै समूह सक्रिय भए पनि उनले आफ्नो अडान छाडिसकेका छैनन्। 





  • प्रकाशित मिति : पुस ११, २०७७ शनिबार १३:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया