प्रचण्ड–माधव पक्षका ३७ जना प्रदेश सभा सदस्यले आइतबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश सरकार धरमर बनेको छ ।
प्रदेश १ मा नेकपाका कुल ६७ सांसद रहेकामा बहुमत सांसद ३७ जनाको हस्ताक्षरसहितको अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शेरधन राई नेकपा संसदीय दलभित्र अल्पमतमा परेका हुन् ।
मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङम्बोको नेतृत्वले अविश्वास प्रस्ताव दर्ता गरेको हो ।
मुख्यमन्त्रीविरुद्ध कुल संख्याको एक तिहाइ संख्याले अविश्वासको प्रस्ताव लैजान सक्ने प्रावधान छ । अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । यसमा प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी रहेका छन् ।
९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् ।
प्रदेशसभामा नेपाली काँग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन् । नेकपाकाे संसदीय दलभित्र ६७ जना प्रदेश सभा सदस्यमध्ये ३४ जनाले बहुमत पुग्नेछ ।
अविश्वासको प्रस्ताव सामना गर्न मुख्यमन्त्री शेरधन राईलाई पनि कांग्रेसको साथ चाहिन्छ भने अविश्वास प्रस्ताव पास गर्न पनि तलमाथि भएको खण्डमा नेकपाको प्रचण्ड माधव गुटलाई पनि कांग्रेसकै साथ चाहिने देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।