चिनियाँ उपमन्त्रीको टोली राजनीतिक भेटमा सक्रिय, राष्ट्रपति कार्यालय पुग्यो

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ यचै नेतृत्वको टोलीले काठमाडौं उत्रिएलगत्तै राजनीतिक भेटघाट सुरु गरेको छ। त्रिभुवन विमानस्थलमा दिउँसो २ बजे उत्रिएपछि सिधै बालुवाटारस्थित चिनियाँ दूतावासमा पुगेको टोलीले त्यहाँबाट निस्किएर राजनीतिक भेटघाट थालेको हो।

विमानस्थलबाट सुरक्षाकर्मीको स्कर्टिङबिना निस्किएको उक्त टोली दूतावासमा पुगेर नेपालको पछिल्लो परिस्थितिबारे राजदूत होऊ यान्छीसँग ब्रिफिङ लिएको थियो। यो टोली सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि नेपालमा बनिरहेको तनावपूर्ण परिस्थितबारे जानकारी लिन आइपुगेको हो। 

चिनियाँ टोली आउनुअघि नेकपामा विभाजन भएको अवस्थामा चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सबैभन्दा पहिले भेटेकी थिइन्। त्यसपछि दाहाल-नेपाल समूहका ६ जना नेतासँग बिहीबार र शुक्रबार संवाद गरेकी थिइन्। 

बेइजिङको  सन्देश लिएर आएका उपमन्त्री यचैले नेकपालाई फेरि एक पटक मिल्न सुझाव दिने बताइएको छ। नेकपा विभाजनपछिको असरबारे उनले  विभिन्‍न नेतासँग संवाद गरेपछि उचित सुझाव र बेइजिङको सन्देश छाडेर जाने छन्। 

उपमन्त्री यचै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता हुने बेला पनि आएका थिए। यसअघि २०७४ फागुनमा आएका यचैले कम्युनिष्ट पार्टीका नेताहरुसँग छलफल  गरेर फर्किएका थिए। यो पटक यचैको भ्रमणका सबै कार्यक्रम अति गोप्य राखिएको छ। नेपाली सुरक्षाकर्मीसमेत साथमा नलिइ उनीहरु राजनीतिक भेटमा जुटेका छन्। 

राष्ट्रपतिकहाँ पुगे



यसेबीच यचैको टोली आइतवार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। दूतावासबाट राष्ट्रपतिालई भेट्न उनीहरु शीतल निवास छिरेका सुरक्षा स्रोतले जानकारी दिएको छ। 

टोलीले नेपालमा नेकपा विभाजनपछिको अवस्थाबारे राष्ट्रपतिसँग संवाद गर्ने छ। त्यसपछि यो टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, दाहाल-नेपाल समूहका दुवै अध्यक्षसहितका शीर्ष नेताहरुसँग पछिल्लो परिस्थितिबारे जानकारी लिने बताइएको छ।



  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १८:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया