कोरोनाको प्रभाव बैंकको लाभांशमा, औसत बोनस १४.१८ प्रतिशतमात्र

गत आर्थिक वर्षको नाफाबाट अधिकांश वाणिज्य बैंकहरूले लाभांश घोषणा गरिसकेका छन् । हाल कायम रहेका २७  वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक र सिभिल बैंकले मात्र लाभांश घोषणा गरेका छैनन् ।  राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक हो ।

बैंकहरूले दुई किसिमका लाभांश दिने गरेका छन् । एउटा नगद लाभांश र अर्को सेयर बोनस । घोषित नगद लाभांश लगानीकर्ताको बैंक खातामा र सेयर बोनस डिम्याट खातामा जम्मा हुन्छ । कुनै बैंकले  दिएको नगद लाभांश भने करबापतको मात्र हुने गरेको छ ।

लाभांश घोषणा गरिसकेका २५ बैंकको तथ्यांक हेर्दा यो वर्ष वाणिज्य बैंकहरुले औसतमा दिने ११.३१ प्रतिशत सेयर बोनस तथा २.८७ प्रतिशत नगद लाभांश दिएको देखिन्छ । औसतमा यो वर्ष बैंकले लाभांश दर १४.१८ प्रतिशत छ । 

यस पटक बैंकहरूले नगदभन्दा सेयर लाभांश धेरै दिएका छन् । धेरैजसो बैंकहरूको लाभांश गत वर्षको तुलनामा घटेको छ । कोरोनाको असरले बैंकहरूको नाफामा प्रभाव परेकाले लाभांश दर प्रभावित भएको बैंकर्सको भनाइ छ । 

बैंक सञ्चालक समितिले घोषणा गरेको लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि साधारणसभाले पारित गर्नुपर्छ । त्यसपछि मात्र लगानीकर्ताले पाउँछन् । साधारण सभा बस्नुअघि बुक क्लोजको मिति घोषणा हुन्छ । बुक क्लोजभन्दा अघिका सेयरधनीले मात्र लाभांश पाउँछन् ।

मंगलबारसम्म हिमालयन, एनआइसी एसिया, बैंक अफ काठमाण्डू, कुमारी, सानिमा, सिटिजन्स, एभरेष्ट, प्रभु, माछापुच्छ्रे र नेपाल बंगलादेश बैंकको बुक क्लोज भइसकेको छ । तीबाहेक अन्य बैंकको सोमबारसम्म सेयर खरिद गर्नेले लाभांश पाउँछन् । केही बैंकले भने यो साताको अन्तिम कारोबारको दिन बुक क्लोजको मिति तय गरेका छन् ।



बुक क्लोजपछि बोनस सेयर दिइएको खण्डमा मूल्य समायोजन गरिन्छ, अर्थात बोनस संख्याका आधारमा अघिल्लो दिन कारोबार बन्द हुँदा कायम भएको मूल्य विशेष सूत्रबाट घटाइन्छ । त्यसपछि बजारमा सेयरको नयाँ मूल्य कायम हुन्छ । 



  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १५:२४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया