लुम्बिनीका १२ वटै जिल्लामा प्रचण्ड–माधव पक्षको विरोध प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन, मन्त्रिमण्डल विस्तारलगायत कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै त्यसको विरुद्धमा मंगलबार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा एकैसाथ विरोध प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको केन्द्रीय कार्यक्रमअनुसार विरोध र्याली र प्रदर्शन गरिएको हो । 

सो क्रममा नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा आयोजित विरोधसभालाई सम्बोधन गरे । सम्बोधनका क्रममा उनले  ओली लोकतन्त्रविरोधी र पार्टी एकताविरोधी रहेको आरोप लगाए । ओली तानाशाही र देशद्रोही व्यक्ति रहेकाले उनलाई हामीले कम्युनिस्ट विचारधाराको मान्छे सोच्नु गलत हुने बताए । 

‘ओली लोकतन्त्रवादी वा कम्युनिस्ट विचारधाराको मान्छे होइन, बेकारमा कम्युनिस्टहरुले उनलाई नेता मानेछौँ,’ उनले भने, ‘जसको चरित्रार्थ उनले जनमतको अपमान गरी संसद विघटन गरेर देखाए ।’ उनले कम्युनिस्ट पार्टीलाई जनताले दिएको बहुमतको अपमान गरेको उनले बताए । 

कम्युनिस्टहरुको सात दशक लामो संघर्षले लोकतान्त्रिक शासन व्यवस्था अर्थात् जनाधिकारसहितको राज्य व्यवस्था निर्माण भएकाले यसलाई कसैले भत्काउन नसक्ने उनको भनाइ थियो । ओलीमाथि आफूहरुले पहिले नै शंका गरेको उल्लेख गर्दै उनले भने, ‘उहिल्यै लागेको थियो, उनले कम्युनिस्ट आन्दोलनलाई धोका दिन्छन् भन्ने । उनी विचार र विधिमा कहिल्यै हिँडेका थिएनन् ।’ 

यसैगरी, रुपन्देहीमा आयोजना भएको विरोधसभामा पूर्वमन्त्री एवं नेकपा केन्द्रीय सदस्य घनश्याम भुसालले सम्बोधन गरे । ओलीले मुलुकको स्वाधिनतामाथि आँच पुर्याउने र पार्टी एकता भत्काउने गरी संसद विघटन गरेकाले नेपाली जनताले यसलाई स्वीकार गर्न नसक्ने बताए । सामन्तवादी चिन्तनका ओलीलाई समाजवादउन्मुख राष्ट्र निर्माणको जिम्मा दिनु नै गलत भएको उनको ठहर छ । उनले भने, ‘ओलीलाई नेता मान्दा कम्युनिस्ट विचार र सिद्धान्तमाथि नै आँच पुग्यो ।’ 

यसैगरी, केन्द्रीय सदस्य महेश्वर गहतराजले बाँके, केन्दीय सदस्य सन्तकुमार थारुले बर्दिया, रुपन्देहीमा लुम्बिनी प्रदेश सचिव जगप्रसाद शर्माले, पश्चिम नवलपरासीमा केन्द्रीय सदस्य हक्की उल्लाह खानले, पाल्पामा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे, गुल्मीमा केन्द्रीय सदस्य गोकर्ण विष्टले अर्घाखाँचीमा केन्द्रीय सदस्य दिलाराम आचार्यले, रुकुम पूर्वमा गणेशमान पुनले, रोल्पामा पूर्वमन्त्री वर्षमान पुनले र प्युठानमा पूर्वमन्त्री रेखा शर्माले सम्बोधन गरेका छन् । 





  • प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार १९:८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया