नेकपा तलैसम्म विभाजित, कार्यकर्ता छिन्‍नभिन्‍न
प्रदेश १ मा ओली समूह कमजोर

विराटनगर : प्रतिनिधिसभा विघटनपछि विभाजनको उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कलहको असर प्रदेश सरकारमा पनि देखिएको छ।

जसको पछिल्ला दृष्टान्त प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ। योसँगै औपचारिक रुपमा विभाजन भइनसकेको नेकपाका सांसददेखि जिल्लाम नेतासमेत विभाजित भइसकेका छन्।

संसद विघटनपछि विभाजनको उत्कर्षमा पुगेको सत्तारुढ नेकपाको प्रदेश १ मा शक्ति सन्तुलनबारे पनि चासो बढेको छ। यसबीचमा ओली पक्षका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पनि पेश भइसकेको छ।

प्रदेश १ मा पार्टी केन्द्रीय सदस्य एवम् प्रदेश सह-इन्चार्ज रहेका शेरधन राई नेतृत्वमा नेकपाको दुईतिहाइ बहुमतको सरकार छ। तर केन्द्रको कलह र विभाजनपछि अब उनको सरकार अल्पमतमा पर्ने निश्चित छ।

प्रदेश १ सभामा ९३ जना सांसदमध्ये पूर्वएमाले र माओवादीबीचको चुनावी गठबन्धनबाट ६७ जना निर्वाचित भएका थिए। तीमध्ये पूर्व एमालेबाट ५१ जना र माओवादीबाट १६ जना छन्। 

सरकारलाई बहुमत पुग्न ४७ सांसद आवश्यक पर्छ। तर प्रचण्ड र नेपाल पक्ष एकातर्फ हुँदा मुख्यमन्त्री शेरधन राईको पक्षमा अहिले २० जना मात्रै सांसद छन्।



पार्टीको केन्द्रीय सदस्य रहेका प्रदेश सरकारका ५ मन्त्रीमध्ये मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैत ओली समूहका हुन्।

पूर्व दुईमन्त्री आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रचण्ड–नेपाल समूहका हुन्। 



मुख्यमन्त्रीको निर्वाचनमा शेरधन राईलाई सहयोग गरेर मन्त्री भएका थिए। नेकपाका सांसदहरु ज्ञानेश्वर राजवंशी, उत्तम बस्नेत, राजकुमार ओझा, वृष बहादुर प्रधान लगायत केही  कुनै समूहमा खुलेर लागेका देखिँदैनन्। ​

उदपयुरका सांसद कला घले र वसन्ती देवी यादव पनि मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा उभिएका छन्। तर मुख्यमन्त्री राईविरुद्धको प्रस्तावक घले पुनः ओली पक्षमा उभिएकी छिन्। नेकपाकै संसाद अहिले दुवै पक्षको तानातानमा छन्।

प्रचण्ड–नेपाल समूह बलियो

दुई पार्टी एकता भएर नेकपा बनेपछि तत्कालीन माओवादी केन्द्रमा आवद्ध अधिकांश प्रचण्ड–नेपाल समूहमै पकड बलियो छ। तत्कालीन एमालेका माधव नेपाल र झलनाथ खनाल दुवै प्रचण्ड समूहसँग मिलेकाले त्यो समूहको सबैतिर स्पष्ट बहुमत छ।

प्रदेश १ का पदाधिकारीमध्ये प्रधानमन्त्री ओलीको समूहको प्रतिनिधित्व अध्यक्ष देवराज घिमिरेले गर्छन् भने सचिव सुरेश किराँती प्रचण्डनिकट हुन्। 

प्रदेश १ का इन्चार्ज भीम आचार्य नेपालनिकट, सह-इन्चार्जहरु सावित्रीकुमार काफ्ले प्रचण्ड निकट र नरेश खरेल नेपालनिकट रहेकोमा अर्का सह-इन्चार्ज तथा प्रदेशका मुख्यमन्त्री शेरधन राई ओलीनिकट हुन्। नेकपाले पार्टीका केन्द्रीय सदस्यहरुलाई जिल्लाको इञ्चार्ज र सह-इञ्चार्ज बनाएको छ।

जिल्लाको समीकरण 

प्रदेश १ का १४ जिल्लामा इञ्चार्ज रहेका १४ जना केन्द्रीय सदस्यमध्ये १३ जना प्रचण्ड–नेपाल समूहमा छन् भने खोटाङका इञ्चार्ज विशाल भट्टराई मात्र ओली समूहमा छन्।

इन्चार्जहरुमा ताप्लेजुङका भाष्कर काफ्ले, झापाका रवीन कोइराला, मोरङका घनेन्द्र बस्नेत, सुनसरीका धर्म निरौला, संखुवासभाका राजेन्द्रकुमार राई, ओखलढुंगाका यज्ञराज सुनुवार र उदयपुरका बलदेव चौधरी नेपालनिकट हुन्। 

पाँचथरका इन्द्रबहादुर आङ्बो, इलामका धीरेन शर्मा, धनकुटाका हेमराज भण्डारी, तेह्रथुमका जयन्ती राई, भोजपुरका सुदन किराती र सोलुखुम्बुका हेमकुमार राई प्रचण्डनिकट हुन्।

यसैगरी १४ जिल्लाका २५ जना सह-इञ्चार्जमध्ये १६ जना प्रचण्ड–नेपाल समूहमा खुलेका छन्। अध्यक्ष ओली समूहमा ७ जना छन् भने दुई जना जिल्ला सहइन्चार्ज कुनै समूहमा खुलेका छैनन्।

जिल्ला सह–इन्चार्जमा झापाका धर्मशीला चापागाईं, ताप्लेजुङका पासाङ शेर्पा, मोरङका गोपी अछामी, सुनसरीका एकचन्द्र बराल, रामकुमारी चौधरी, तेह्रथुमका दुर्गा चापागाई, संखुवासभाका राजेन्द्र कार्की, खोटाङका रामकुमार राई र समिता कार्की प्रचण्डनिकट हुन्।

यस्तै मोरङका महेश रेग्मी र देउमान सम्बाहाम्फे, सुनसरीका मोहमद महुज अन्सारी, भोजपुरका हरिबहादुर राई, खोटाङका दुर्गाजयन्ती राई र राजन राई आफ्नो पक्षमा रहेको नेपाल समूहको दाबी छ।

ओली समूहमा खुलेका जिल्ला सह–इन्चार्जहरुमा पाँचथरका अइन्द्रसुन्दर नेम्वाङ, झापाका देवेन्द्र दाहाल, सुनसरीका जगदीश कुसियैत, तैयव हुसेन र भगवती चौधरी, तेह्रथुमका विजय सुब्बा र उदयपुरका मञ्जु चौधरी छन्।

सह–इन्चार्ज रहेका झापाका हरिबहादुर राजवंशी र ताप्लेजुङका तिलकुमार मेयाङ्बो कतै नखुलेको बताइन्छ। नेपालनिकट मानिने मेयाङ्बो प्रतिनिधिसभाका दाबेदार भए पनि योगेश भट्टराईले टिकट पाएपछि असन्तुष्ट रहेको बताइन्छ।

जिल्ला अध्यक्ष को कता? 

प्रदेश १ का १४ जिल्लामध्ये ७ जिल्लाका अध्यक्षहरु प्रचण्ड–नेपाल समूहमा खुलेका छन् भने ५ जिल्लाका अध्यक्ष ओली समूहमा छन्। दुई जिल्लाका अध्यक्षहरु तटस्थ रहेको बताइन्छ।

इलामका अध्यक्ष राम राना र धनकुटाका अध्यक्ष राजेन्द्र राई आफ्नो समूहमा रहने दुवै पक्षको दाबी छ। तर धनकुटाका अध्यक्ष राजेन्द्र राईले काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिसकेका छन्। उनी ओली समूहमा खुलिसकेको बताइन्छ।

राना नेता झलनाथ खनालनिकट भए पनि प्रदेश सरकारमा मन्त्री रहेकोले नखुलेको प्रचण्ड–नेपाल समूहको दाबी छ। राई पनि आफूहरुसँगै रहेको सो समूहको भनाइ छ।

जिल्ला अध्यक्षहरुमा ताप्लेजुङका विजय बनेम, सुनसरीका योगेन्द्र मण्डल, खोटाङका देवान चाम्लिङ, ओखलढुंगाका मोहनकुमार खड्का र उदयपुरका विनोद कटवाल प्रचण्डनिकट हुन्।

यस्तै तेह्रथुमका लक्ष्मण तिवारी र संखुवासभाका हेमराज घिमिरे नेता नेपालनिकट मानिन्छन्। पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, झापाका चिन्तन पाठक, मोरङका ऋषिकेश पोखरेल, भोजपुरका प्रेमकुमार राई र सोलुखुम्बुका मानवीर राई ओली समूहमा खुलेका जिल्ला अध्यक्षहरु हुन्। प्रदेश १ का १४ जिल्लाकै सचिवहरु प्रचण्ड–नेपाल समूहमा देखिएका छन्।

ताप्लेजुङका बलबहादुर साम्सोहाङ, सुनसरीका रमेश बस्नेत, खोटाङका राम दंगाल, ओखलढुंगाका मोहन श्रेष्ठ र उदयपुरका इश्वरमणि राउत नेपालनिकट मानिन्छन्। 

यस्तै पाँचथरका होम जबेगु, इलामका सोममाया राई, झापाका मणिकुमार साम्पाङ, धनकुटाका ऋषिराम ढुंगाना, तेह्रथुमका इन्द्रबहादुर इम्सुङ, संखुवासभाका कृष्ण याख्या, भोजपुरका विमल खड्का र सोलुखुम्बुका गोम्बु शेर्पा प्रचण्ड निकट हुन्।

प्रदेश १ मा जिल्ला सरहको हैसियत राख्ने विराटनगर महानगर कमिटीको इञ्चार्ज शिवकुमार मण्डल र सचिव हेम कार्की प्रचण्ड–नेपाल समूहका हुन्। महानगरका अध्यक्ष सागर थापा भने ओली समूहमा छन्।

केन्द्रीय नेता को कता? 

प्रदेश १ बाट नेकपाको सचिवालयमा प्रतिनिधित्व गर्ने दुईमध्ये अध्यक्ष ओली र झलनाथ खनाल फरक समूहमा रहँदा स्थायी समिति सदस्यहरु योगेश भट्टराई, भीम आचार्य र आमन्त्रित स्थायी कमिटी सदस्य पेशल खतिवडा प्रचण्ड नेपाल समूहमा छन्। स्थायी समिति सदस्य सुवास नेम्वाङ भने ओली समूहमा छन्।

जिल्लाका इञ्चार्ज तथा सह–इञ्चार्जबाहेक संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोरङका भानुभक्त ढकाल, कानुनमन्त्री मोरङकै शिवमाया तुम्बाहाम्फेसहित केन्द्रीय सदस्यहरु मोरङका विनोद ढकाल र गुरु बराल तथा संखुवासभाका राजेन्द्र गौतम ओली समूहमा छन्।

केन्द्रीय सदस्यहरु झापाका राम कार्की, ताप्लेजुङका टंक आङ्बुहाङ, भोजपुरका अजम्बर काङवाङ र पदम राई, सुनसरीका किरण राई, सोलुखुम्बुका शिवबहादुर बस्नेत, उदयपुरका जगन्नाथ खतिवडा प्रचण्ड–नेपाल समूहमा खुलेका छन्।

प्रदेश १ कमिटी

नेकपाको प्रदेश १ कमिटी २०७ जनाको गठन भएको थियो। त्यसमा पछिल्लो पटक विधानअनुसार १० प्रतिशत सदस्य मनोनित गरी थप गरिएको छ। 
प्रदेश कमिटीमा साविक माओवादीको ४० प्रतिशत रहेकोले त्यसमा नेपालनिकट सदस्यहरु थप गर्दा ७० प्रतिशतभन्दा माथि आफ्नो पक्षमा हरेको प्रचण्ड–नेपाल समूहको दाबी छ। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश १ का जिल्लाका इन्चार्जमा पनि प्रचण्ड–नेपाल पक्ष बलियो देखिएको छ। प्रदेश १ का कुल १३ जिल्ला इन्चार्ज, विराटनगर महानगरपालिकाका इन्चार्ज र खोटाङ जिल्ला सह–इन्चार्ज प्रचण्ड–नेपाल पक्षका रहेका छन।

प्रदेश १ ताप्लेजुङका इन्चार्ज भाष्कर काफ्ले, पाँचथरका इन्चार्ज इन्द्रबहादुर आङ्बो, इलामका इन्चार्ज धीरेन्द्र शर्मा, झापाका इन्चार्ज रविन कोइराला, मोरङका इन्चार्ज घनेन्द्र बस्नेत, सुनसरीका इन्चार्ज धर्मराज निरौला छन्।

त्यसैगरी धनकुटाका इन्चार्ज हेमराज भण्डारी, तेह्रथुमका इन्चार्ज जयन्ती राई, संखुवासभाका राजेन्द्र राई, भोजपुरका इन्चार्ज सुदन किराँती, सोलुखुम्बुका इन्चार्ज हेमकुमार राई, ओखलढुंगाका इन्चार्ज यज्ञराज सुनुवार, र उदयपुरका इन्चार्ज बलदेव चौधरी प्रचण्ड–नेपाल पक्षका हुन्।

यस्तै प्रदेश १ का एकमात्र महानगरपालिका विराटनगरका इन्चार्ज शिवकुमार मण्डल र खोटाङका सह–इन्चार्ज समिता कार्की पनि प्रचण्ड–नेपाल पक्षका हुन। खोटाङका इन्चार्ज विशाल भट्टराई भने ओली पक्षका हुन्।

  • प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार १२:४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया