डोल्पा सदरमुकाम दुनैमा निषेधाज्ञा

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि डोल्पा सदरमुकाम दुनैमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाले पुस १९ गते (आइतबार) देखि पुस २३ गतेसम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो । शनिबार एक सूचना जारी गर्दै प्रशासनले सदरमुकाम दुनैको पूर्वमा लोचाखोला, पश्चिममा सुलिगार्ड, उत्तरमा भेरी पारीको सम्पूर्ण बस्ती र दक्षिणमा तिप्ला जानेबाटो क्षेत्रमा निधेधाज्ञा गर्ने जानकारी दिएको छ । 

अनावश्यक जमघट, भेटघाटबाट नै संक्रमण फैलने भएकाले जिल्लामा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट नगर्न आग्रह गरिएको छ । सदरमुकाम दुनै बजार क्षेत्रका खाद्यवस्तुलगायतका सम्पूर्ण पसल बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खुला गर्न पाइने, होटल, रेष्टुरेन्ट, सैलुन, पुल हाउसजस्ता व्यवसाय पूर्ण रुपमा बन्द रहने बताइएको छ । 

अत्यावश्यकबाहेक अन्य समयमा सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरिएको छ भने घर बाहिर निस्किँदा र किनमेल गर्दा अनिवार्य रुपमा मास्क लगाउने र सामाजिक दूरी कायम गर्न आग्रह गरिएको छ । यदि नियमको पालना नगरेको अवस्थामा प्रहरीले तत्काल नियन्त्रणमा लिने प्रशासनले जानकारी दिएको छ ।
 
डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले सदरमुकाम क्षेत्रमा कोरोना संक्रमणको दर बढ्दै गएपछि सबै सरोकारवालाको सल्लाह सुझाबअनुसार निषेधाज्ञा जारी गरेको बताए । ‘हामीले पहिलो चरणमा कोरोनासम्बन्धी जनचेतना मूल प्रचार, कार्यक्रम सबै गरौँ,’ उनले भने, ‘तर, त्यो कुरामा स्थानीयको चासो नजाँदा पनि निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आयो ।’ ५ दिनभित्र सबैको कन्ट्र्याक्ट टे«सिङ गर्ने त्यसको नतिजाअनुसार अन्य कार्यक्रम अघि बढाउने उनको भनाइ छ । 





  • प्रकाशित मिति : पुस १८, २०७७ शनिबार १८:५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया