चट्याङबाट मृत्यु भएका चारजनाको परिवारलाई एक–एक लाख राहत

सप्तरीमा चट्याङबाट मृत्यु भएका चारजनाको परिवारलाई राहतस्वरुप एक–एक लाख प्रदान गरिएको छ । प्रदेश नं २ सरकारले राहतस्वरुप एक–एक लाखका दरले मृतक चारजनाको परिवारलाई सहयोग उपलब्ध गराएको हो । 

राजविराजस्थित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहको सम्पर्क कार्यालयमा एक कार्यक्रमको आयोजना गरी शनिबार मृतक परिवारलाई जनही एक लाखको चेक हस्तान्तरण गरिएको हो ।

मन्त्री साहले सप्तरीको महादेवा गाउँपालिका–२ का २८ वर्षीय बेचन यादव र सोही ठाउँका ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेवी यादव र राजगढ गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय केसीलाल साहको परिवारलाई एक–एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।

वर्षासँगै परेको चट्याङले गत असार ११ गते सप्तरीमा चारजनाको मृत्यु भएको थियो । घरमा गोसाइँ गाड्ने पूजाकर्मका लागि बुवाआमा र साथीसँगै कोशी नदी गएका बेचन यादव र कपाल काट्न लगिएका हजाम नकछेदी ठाकुरको चट्याङ लागेर मृत्यु भएको थियो । बेचन महादेवा गाउँपालिकाका खरिदार थिए । 

यसैगरी, लकडाउनका बेला विद्यालय बन्द भएपछि घर आएका उदयपुरको रानीवास खाँबुस्थित जनता माविका शिक्षक केसीलाल साहको धान रोप्ने खेतमा काम गर्न निक्लिएका बेला चट्याङ लागेर मृत्यु भएको थियो । खेतमा काम गरिरहेकी ललीतादेवी यादवको समेत सोही दिन चट्याङ लागेर मृत्यु भएको थियो ।
    
चट्याङ लागेर राजगढ गाउँपालिका–४ की २१ वर्षीया आशाकुमारी मण्डल र बेचनसँगै कोशी नदी गएका उनका साथी दीपक यादव घाइते भएका थिए । 





  • प्रकाशित मिति : पुस १८, २०७७ शनिबार २०:१७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया