काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका एकजना नेता भीम रावलले बोल्दै नबोलेको कुरालाई लिएर प्रधानमन्त्री ओली आइतवार उनीमाथि खनिएका छन्। पुस १२ गते कैलालीको धनगढीमा महिलाबारे विवादित टिप्पणी गरेको भन्दै भाइरल बनाइएको 'फेक समाचार'लाई टेकेर ओलीले रावलमाथि व्यंग्यवाण प्रहार गरेका हुन्।
नामै नसुनिएको एउटा अनलाइनले पुस १२ मा 'ओलीको शरीरमा स्त्री अंग मिसिएको हुँदा दिमागले काम गरेन>रावल', शीर्षकको समाचार छापेको थियो। उक्त समाचार रावलले बोलेको भनेको कुरा गलत भएको पुष्टि तथ्य जाँचका क्रममा भएको थियो।
रावलले बोल्दै नबोलेको कुरालाई समाचार बनाएको उक्त अनलाइनको स्क्रिन सट सेयर रावलविरोधी नेकपाका नेता कार्यकर्ता र महिलाहरुले समेत चर्को विरोध गरेका थिए। तर रावलले बोलेको कार्यक्रममा उपस्थित कैलालीका पत्रकार तेज बोहोरासहित उक्त कुरा गलत भएको बताएका थिए। उनीहरुले रावलले त्यस कार्यक्रममा बोलेको अडियो, भिडियो नै सार्वजनिक गरेपछि रावलले बोलेको भनेर लेखिएको समाचार गलत पुष्टि भएको थियो।
एउटा अनलाइनबाट तानेर हालिएको उक्त समाचारमा त्यो अनलाइनले ती विवादित शब्द थपेर भाइरल बनाएको थियो। उक्त समाचार गलत भएको पुष्टि भएपछि त्यो अनलाइनले भोलिपल्ट सच्याउन बाध्य भयो।
ओली किन बोले?
उक्त समाचार झुटा रहेको पुष्टि भइसकेको अवस्थामा आइतवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीले बबरमहलमा गरेको बृहत् कार्यकर्ता भेलामा बोल्दै ओलीले त्यी प्रसंग निकालेर रावलमाथि हमला बोले। 'एकजना नेताले चर्को भाषण गर्दै केपी ओलीले महिलाको किड्नी लाएर दिमागै बिग्रियो भनेछन्', रावलको नाम नलिइ ओलीले चर्को स्वरमा भने।
ओलीलाई उत्साहित बनाउन हलमा बसेका थिए अनेरास्ववियुका ओली समर्थित कार्यकर्ता। उनीहरुले ओलीका हरेक कटाक्षपूर्ण भाषणमा ताली पिटिरहे। भीम रावलले बोल्दै नबोलेको कुरालाई पनि ओलीले कटाक्ष गरिरहँदा झन् ताली बजाउँदै हुटिङ गरे उनीहरुले।
हलभरी बसेका कार्यकर्ताले हुटिङ र ताली बजाइरहेपछि ओलीले दाहाल-नेपाल, नारायणकाजी श्रेष्ठ र भीम रावललाई प्रहार गरिरहे। 'केपी ओलीले महिलाको किड्नी लगाएर दिमाग नै बिग्रियो रे! महिलाको किड्नी लगाएर दिमाग बिग्रियो भने महिलाबाट जन्मिएको त्यो मान्छे पहिलेदेखि नै के होला? म त्यतातिर जान चाहन्नँ', ओलीले उत्साहित हुँदै भने, 'महिलाको कत्रो अपमान हो त्यो, महिलाबाट किड्नी मात्रै लगायो भने पनि मान्छे पागल हुन्छ। के के बोल्न सकेका हुन्?'
ओलीले रावलको नाम नलिइ त्यसरी भाषण गरेको बेलुका उनलाई श्रीमती र छर-छिमेकीले गर्ने व्यवहारबारे पनि चर्चा गरे। 'महिलामाथि त्यसरी अपमान गरेको त्यो दिन बेलुका तिनलाई श्रीमतीले कसरी खान दिइन् होला? घरमा पुग्दा ढोका खोलेर स्वागत कसरी गरिन् होला?', ओलीले भावनामा बहकिएर बोल्दै गए, 'उनको घर वरिपरिका झ्यालबाट हेर्ने छिमेकी दिदीबहिनीहरुका अगाडि कसरी अनुहार देखाए होला? अच्चम लाग्छ।'
महिलाको हुर्मत लिनेहरुले नै राष्ट्रपतिमाथि पनि प्रहार गरिरहेको उनले टिप्पणी गरे। आफूलाई मिर्गौला दिने भाञ्जीदेखि राष्ट्रपतिसम्मको चरित्रहत्या गरिएको बताउँदै उनले महिलाको मिर्गौला लगाएका व्यक्तिको दिमाग सन्तुलित नहुने भनी टिप्पणी गर्ने गरेको पनि ओलीले सुनाए।
रावलले के भनेका थिए?
आफूले बोल्दै नबोलेको कुरालाई लिएर समाचार लेखिएपछि नेता रावलले त्यतिखेरै कडा आपत्ति जनाएका थिए। उनले आफूविरुद्ध कु-प्रचार गरिएको भन्दै भर्त्सान गरेका थिए। आफूविरुद्ध त्यस तहको समाचार लेख्नेको दिमागमै उनले प्रश्न उठाएका थिए।
'ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन' भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्दछु', उनले त्यही बेला भनेका थिए, 'त्यो निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो। मप्रति घृणा फैलाउन गरिएको उक्त कु-प्रचारको घोर निन्दा गर्छु। म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।