पहिले पार्टी बैठकमा जान पनि सुरक्षा खतरा देख्ने ओली अहिले किन यति धेरै सक्रिय ?

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि सत्तारुढ दल नेकपा विभाजित भएको छ । 

नेकपा विभाजन भएपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको सक्रियता अस्वभाविक ढंगले बढेको छ ।  पछिल्ला दिनमा ओली लगातार आफ्नो समूहको भेला, प्रशिक्षण तथा छलफलमा सहभागी भइरहेका छन् । 

पार्टीका विभिन्न कमिटी र जनवर्गीय संगठनका भेलामा प्रमुख वक्ताका रुपमा ओली सहभागी भइरहेका छन् । ती सबै कार्यक्रममा ओलीले १ घण्टाभन्दा बढी भाषण गर्ने गरेका छन् । 

सम्बोधनका क्रममा ओलीले अधिकांश समय प्रचण्ड–नेपाल पक्षका नेतामाथि कटाक्ष गर्न खर्चिदै आएका छन् । ओलीले पार्टी नफुटेको, खाली केही नेता पार्टीको बैठकमा नआएको मात्रै भएको बताइरहेका छन् ।
 
पार्टी विभाजन हुनुभन्दा पहिले प्रधानमन्त्री निवास बालुवाटारबाट खासै बाहिर ननिस्कने ओली अहिले उपत्यकाका विभिन्न ठाउँमा भएका पार्टीका कार्यक्रममा पुगेर घन्टौँ बिताउने र चर्का भाषण गर्ने गरेका छन्। 

पार्टी विभाजनअघि ओली पार्टीका बैठकमा जान मान्दैनथे । निकै दबाबपछि बैठक बस्नै परे पनि बालुवाटारमै राख्दै आएका थिए । आफ्नै पार्टी मुख्यालय धुम्बाराहीमा जान पनि सुरक्षा खतरा रहेको अभिव्यक्ति प्रधानमन्त्रीले दिएका दिए । 

पार्टी विभाजनअघि



प्रधानमन्त्री ओलीले सुरक्षा खतरा रहेको भनेपछि गत मंसिर २१ गते पार्टी कार्यालय धुम्बाराहीमा डाकिएको  स्थायी समितिको बैठकमा सुरक्षा व्यवस्था कडा गरिएको थियो । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । रेक्कीका लागि कुकुरको व्यवस्था गरिएको थियो । 

बम डिस्पोजल टोली खटाइएको थियो । एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो । पार्टी कार्यालय वरपरका घरमा समेत सुरक्षाकर्मी तैनाथ थिए । यति धेरै सुरक्षा व्यवस्था गरिए पनि प्रधानमन्त्री ओली सो बैठकमा उपस्थित भएनन्। 



मंसिर २८ गतेको स्थायी समिति बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको मृत्युप्रति शोक प्रस्ताव पारित गरी अन्त्य गर्ने सहमति भएपछि ओली उपस्थित भए । एकैछिनका लागि बसेको बैठक ओलीकै लागि बालुवाटारमै बस्यो । 

त्यसपछि पुस १ गते प्रधानमन्त्री निवास बालुवाटारमै स्थायी समिति बैठक बसेको थियो । अघिल्लो दिन मात्रै सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि त्यसले नेकपाभित्र थप विवाद चुलिएको थियो । 

पुस १ मा सुरुमा ओली बैठकमा उपस्थित नहुने मुडमा थिए । सोही दिन पार्टीकै सांसदहरु संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय पुगेको जानकारी पाएपछि उनी अर्का अध्यक्ष प्रचण्डसँगको छलफलपछि बैठकमा सहभागी भएका थिए। 

बैठकमा ओलीले अध्यादेश फिर्ता गर्ने र अर्काे पक्षले संसद अधिवेशन मागको निवेदन फिर्ता गर्ने सहमति भएको थियो । अर्काे बैठक पुस ५ गतेका लागि तोकिएको थियो । पुस ५ गतेको बैठक पनि पार्टी कार्यालयमा नभई बालुवाटारमै बोलाइएको थियो । 

त्यस दिन पार्टी बैठक बस्नुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि नेकपा विवाद फुटतर्फ उन्मुख भयो । यसका बाबजुद पनि ओली पक्षबाहेकका स्थायी समिति सदस्यको बैठक बालुवाटारमै बसेको थियो । त्यसपछि  निरन्तर दुवै समूहका बैठक बस्न सुरु भए । 

पार्टी विभाजनअघिसम्म बैठक बस्नै नरुचाउने ओली विभाजनपछि भने निकै उत्साहका साथ बैठक, भेलामा सहभागी भइरहेका छन् । अहिले उनको मूल काम नै पार्टीका बैठक भेलामा गएर अर्काे पक्षका नेतामाथि कटाक्ष गर्ने मात्रै रहेको जस्तो देखिन थालेको छ ।

पार्टी विभाजनपछि बढ्यो सक्रियता

पार्टी पार्टीको बैठक राख्न र बैठकमा उपस्थित हुन नमान्ने ओलीले पार्टी दुई कित्तामा विभाजित भएपछि निरन्तर आफ्नो समूहको बैठक राखिरहेका छन् । विभाजनपूर्व भने उनले सरकारको काम गर्नुपर्ने बेला अनावश्यक रुपमा पार्टी बैठकमा बोलाएर अल्मल्याएको भन्ने गरेका थिए । 

पार्टी विभाजन भएपछि ओली हरेक दिनजसो आफ्नो समूहका कार्यक्रम पुगेर घन्टौँसम्म बस्ने गरेका छन् । 

पार्टी विभाजनपछि ओलीको व्यस्तता 

पुस ६ गते (बालुवाटार)
पुस ६ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहले आफ्नो पक्षका केन्द्रीय सदस्यको बैठक राखेको थियो । त्यसको अध्यक्षता ओलीले गरेका थिए । 

पुस ७ गते(बालुवाटार)
पुस ६ गते बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्यको बैठक बोलाएर ओलीले केन्द्रीय समितिमा देशभरबाट आफ्नो पक्षका ५५६ जनालाई थपेको घोषणा गरेका थिए । त्यसरी थपिएका केन्द्रीय सदस्यलाई शपथ खुवाउने र प्रशिक्षण दिने कार्यक्रम पुस ७ गते राखिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित त्यस कार्यक्रमको नेतृत्व ओली नै गरेका थिए । 

पुस ९ गते (बालुवाटार) 
ओली पक्षले विस्तार गरेको केन्द्रीय समितिको बैठक बालुवाटारमा राखिएको थियो । बैठकको अध्यक्षता ओलीले नै गरेका थिए । 

पुस १०
१० गतेका दिन मन्त्रिपरिषद्मा नयाँ मन्त्री थप्नका लागि ओली नेताहरुसँग र भेटघाटमा व्यस्त भएका थिए । मन्त्री थप गरी साँझपख मन्त्रीहरुलाई शपथ खुवाइयो । 

पुस १५ (कार्की ब्यांक्वेट)
पुस १५ गते नेकपा (ओली) समूहले सुदूरपश्चिम प्रदेशका नेता–कार्यकर्ता भेला आयोजना गरेको थियो । बबरमलस्थित कार्की ब्यांक्वेटमा आयोजना गरिएको कार्यक्रममा मुख्य वक्ता ओली नै थिए । 

पुस १७ (भर्चुअल कार्यक्रम)
अङ्ग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा प्रवासमा रहेका नेकपाका ओलीनिकट कार्यकर्ताले भर्चुअल कार्यक्रम आयोजना गरेका थिए । यस कार्यक्रमको मुख्य वक्ता ओली नै थिए । यस कार्यक्रममा प्रधानमन्त्री ओलीले करिब १ घण्टा सम्बोधन गरेका थिए । 

पुस १८ गते (प्रज्ञा भवन)
काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा पुस १८ गते ओली समूह काठमाडौं जिल्लाका नेता–कार्यकर्ताको भेला थियो । यस कार्यक्रममा प्रमुख अतिथि र मुख्य वक्ता नै ओली थिए । 

पुस १९ गते (कार्की ब्यांक्वेट)
१९ गते बबरमलस्थित कार्की ब्यांक्वेटमा विद्यार्थी संगठन अनेरास्ववियू ओली समूहको भेला आयोजना गरिएको थियो । यस कार्यक्रमको मुख्य अतिथि र वक्ता ओली नै थिए ।

  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार २०:३५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया