प्रचण्डलाई बादलको चुनौती : प्रधानमन्त्री बन्‍ने रहर चुनाव जितेर पूरा गर्नू
दाहाल-नेपाल पार्टी नभइ गुट मात्रै भएको जिकिर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ओली) समूहका नेता एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुष्पकमल दाहाल प्रचण्डलाई अबको चुनाव जितेर प्रधानमन्त्री बन्‍न चुनौती दिएका छन्। नेकपा चितवन (ओली पक्ष) ले भरतपुरमा गरेको वृहत कार्यकर्ता भेलामा बोल्दै बादलले यस्तो बताएका हुन्।

‘प्रचण्ड प्रधानमन्त्री बन्‍न चाहनुहुन्थ्यो । अनेक जालझेल गरेर । अब हामीले संसद विघटन गरेका छौं, उनले भने, ‘अब प्रधानमन्त्री बन्‍न मन भए चुनावमा जानुस्।’ 

बादलले नेकपाको अध्यक्ष बन्‍न मन भए महाधिवेशनमा जान पनि चुनौती दिए । ‘तपाईंलाई नेकपाको अध्यक्ष बन्‍न मन छ भने महाधिवेशनमा जानुस्। कार्यकर्ताको मन जित्नुस्। चुनावबाट जितेर अध्यक्ष बन्नुस्', उनले भने, ‘तर अनेक जालझेल गरेर गुटबन्दीमा लागेर पार्टी र सरकारलाई असफल बनाउने काम नगर्नुस्।’

पुरानो संसदले प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्ने भन्दै उनले अबको चुनाव प्रचण्डको लागि प्रधानमन्त्री बन्‍ने मौका भएको बताए। यो मौकामा सहभागी हुन पनि उनले प्रचण्डलाई आग्रह गरेका छन्।

पार्टी नेतृत्वलाई निकाल्न खोज्नेसँग मिल्नु भनेको राष्ट्रघातको पक्षमा र गणतन्त्रको विपक्षमा उभिनु रहेको उनले बताए। उनले आम नेकपाका कार्यकर्तालाई ओलीको पक्षमा उभिन आग्रह गरे। 

‘षड्यन्त्र गरेर सरकारलाई असफल पार्नु, पार्टी नेतृत्वलाई असफल पार्नु, विरोध गर्नु, हटाउनु भनेको समाजवादको विरोध गर्नु हो', उनले भने, 'राष्ट्रघात गर्न खोज्नु हो । संघीयाताको विरोध गर्नु हो । गणतन्त्रको विरोध गर्नु हो। त्यसैले नेतृत्वलाई हटाउनेसँग मिल्नु ठीक हुँदैन ।’



ओलीमाथि आरोप लगाएर, विरोध गरेर, सरकारलाई असफल पारेर दाहाल-नेपालले पार्टी फुटाउने षड्यन्त्र पहिल्यैदेखि गरिहेको उनले बताए।  त्यसैलै आफूहरु पार्टी फुटाउनेहरुसँग मिल्न नसकेको उनको भनाइ थियो। आफूहरुको भेला नै पार्टीको आधिकारिक भेला भएको बताउँदै उनले दाहाल-नेपालको भेला गुटको मात्रै भएको बताए ।

आफूहरु एकताको पक्षमा भएको बताउँदै उनले गुटवादीहरुको पक्षमा लाग्नु ठीक नहुने धारणा राखे । पार्टी चलाउन सही नेतृत्वको आवश्यक पर्ने बताउँदै उनले सही नेतृत्वको रक्षा र गलत नेतृत्वको भण्डाफोर गर्न आफूहरु यहाँ भेला भएको बताए।  दाहाल-नेपाल सही विचार लिएर चुनावमा जान चाहेमा आफूहरु मिल्न तयार रहेको बताउँदै बादलले उनीहरुको गलत विचार र सोचका कारण समस्या आएको बताए ।



  • प्रकाशित मिति : पुस २०, २०७७ साेमबार १८:५६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया