बलिउड नायिका एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी मनीषा कोइरालाले पछिल्लो समय राजनीतिमा सक्रियता देखाउन थालेकी छिन् ।
भारतले लिम्पियाधुरा हुँदै चीनतर्फ जोडिने सडकमार्ग खोल्दा मनीषाले आपत्ति जनाएपछि उनी भारतीय सञ्चारमाध्यमको तारो बनेकी थिइन् भने नेपालमा उनको लोकप्रियता बढेको थियो ।
पूर्वमन्त्री प्रकाश कोइरालाकी छोरी र कांग्रेस महामन्त्री शशांककी भतिजी मनीषाको राजनीतिमा आगमन हुने चर्चा बारम्बार चल्दै आएको छ ।
यसै सिलसिलामा उनी मनीषा २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिमा छिन् । उक्त समितिमा पूर्वडिआइजी रमेश खरेल पनि छन् ।
मनीषाको पछिल्लो सक्रियताले उनी राजनीतिमा आउन लागेको भनेर चर्चा हुन थालेको छ । मनीषाका पिता प्रकाश पूर्वराजा ज्ञानेन्द्रको मन्त्री बनेपछि राजनीतिबाट ओझेलमा परेका थिए ।
मनीषाका भाइ सिद्धार्थ नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । केही वर्षअघि सिद्धार्थलाई तरुण दलको तदर्थ समितिमा पदाधिकारी बनाउने चर्चा चलेको थियो ।
मनीषा राजनीतिमा आउलिन्–नआउलिन् या आए पनि कुन धारबाट राजनीति गर्लिन् त्यो भने भविष्यले नै बताउनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।