'नेम्बाङज्यू ! सविधानमाथि 'कु' भएको बेला दुलोबाट निस्किनुस्'
सर्वोच्चले संविधानको पक्ष लिने गगनको विश्वास

काठमाडौं : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रतिनिधिसभा विघटनलाई लिएर मौन बसेकोमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङमाथि कटाक्ष गरेका छन्। 

प्रतिनिधिसभा विघटनलाई लिएर सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ सुरु हुनुअघि यसबारे बोल्दै थापाले नेम्बाङमाथि  कटाक्ष गरेका हुन्। संविधानमा 'कु' हुँदैगर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसकेको आरोप उनले नेम्बाङलाई लगाएका छन् । 

 'म यतिबेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर, त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ,' उनले लेखेका छन्, 'अपशोस उहाँ त कसैले केही सोध्लान् की भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ। आफैँले बनाएको संविधानमा 'कु हुँदै गर्दा चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको 'निरीहता' देख्दा दया लागेको छ।' 

संविधान बनाएको संविधानसभाको नेताले संविधानको पक्षमा उभिने साहस नगरेकोमा उनले दु:ख जनाएका छन्।  उनले प्रतिनिधिसभा विघटलाई लिएर सर्वोच्च अदालत संविधानको पक्षमा उभिने विश्वास पनि जनाएका छन् । 

'मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ,' उनले भनेका छन्। पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेपछि परेका १२ वटा रिटको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले सरकारसँग जवाफ मागेको थियो। सरकारको जवाफ आइसकेपछि आजदेखि सुनुवाइ थालिएको हो। 





  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १२:५१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया