पाकिस्तानी अदालतले लगायो कौमार्य परीक्षणमाथि रोक

पाकिस्तानको एक अदालतले बलात्कार पीडितको भर्जिनिटी टेस्ट (कौमार्य परीक्षण) बन्द गर्नु पर्ने फैसला गरेको छ । अदालतको यो फैसलासँगै त्यहाँ मानवअधिकार समर्थकहरुले यसको खुलेर प्रशंसा र स्वागत गरेका छन् । 

पन्जाब प्रान्तमा यो फैसलापछि अब महिलाको ‘हाइमन’ परीक्षण तथा टु फिंगर परीक्षण गर्ने प्रक्रियालाई अन्त्य गर्ने भइएको छ ।

लाहोरको एक उच्च अदालतकी न्यायाधीश आयशा मलिकले यो परीक्षण अपमानजनक काम भएको र यसबाट कुनै फरेन्सिक मद्दत नमिल्ने भन्दै यो फैसला सुनाएकी हुन् ।

पाकिस्तानको पन्जाब प्रान्तका मानवअधिकारवादीहरुले यस विषयमा अदालतमा मुद्दा हालेका थिए । 

अब त्यहाँका मानवअधिकारवादी समर्थकहरुले लामो समयदेखि बलात्कार पीडित महिलाको भर्जिनिटी टेस्ट गरिँदै आएको भन्दै यसलाई बन्द गर्नु पर्ने माग गरेका थिए । यसमा कुनै वैज्ञानिक आधार नभएको उनीहरुले दाबी गर्दै आएका थिए । 

यस्तै माग गर्दै पाकिस्तानका अन्य अदालतमा पनि रिट दायर भएका छन् । अब यो फैसला आएसँगै पाकिस्तानका अन्य अदालतमा पनि यो परम्परा बन्द हुने वा फेरिने सम्भावना बढेको छ ।



यसअघि पाकिस्तानी समाजमा एउटा महिलाले पहिले यौन सम्बन्ध राखेको वा नराखेको थाहा पाउनका लागि महिलाको जनेन्द्रीयमा एउटा वा दुई वटा औंला राख्ने गरिएको थियो । यस्तो गर्दा महिलाले पहिले कुनै शारीरिक सम्बन्ध राखेको वा नराखेको थाहा हुन सकिने विभिन्न चिकित्सकले बताउँदै आएका थिए । 



विश्व स्वास्थ्य संगठनले चाहिँ यसअघि नै यो परीक्षण विधिलाई अवैज्ञानिक भन्दै यस्तो नगर्न बताउँदै आएको थियो । यो मानवअधिकारको उल्लंघन भएको पनि स्वास्थ्य संगठनले बताउँदै आएको थियो । 

तर, यस्तो समस्या पाकिस्तानमा मात्र होइन, विश्वभर पितृसत्तात्मक संस्कृतिमा हुँदै आएको भन्दै मानवअधिकार समर्थकहरुले यसको विरोध गर्दै आएका थिए । पाकिस्तानमा यो समस्या अझ बढी छ । किनकि त्यहाँ बलात्कार पीडितले पनि प्रहरीमा वा अन्यत्र कतै उजुरी गर्ने गरेका छैनन् । किनकी बलात्कृत महिलालाई त्यहाँ सामाजिक कलंकका रुपमा देखिन थालिएको छ ।

  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १७:७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया