एमालेले 'क्लिन स्वीप' गरेको धनकुटामा सांसदसहित सबै जनप्रतिनिधि ‌ओलीतिर
ओलीले नपत्याए पनि 'म्यान अफ द म्याच' ले छाडेनन् साथ

धनकुटा : सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएसँगै यसको असर तल्लो तहसम्म देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालको नेतृत्वमा नेकपामा दुई समूह बनेपछि अहिले नेता कार्यकर्ता तानातान चलिरहेको छ।

जिल्लामा समेत नेता कार्यकर्ता तानातान चलिरहेका बेला पूर्वी पहाडी जिल्ला धनकुटामा संघीय सांसद राजेन्द्र राईसहित सबै तहका जनप्रतिनिधि केपी ओली नेतृत्वको नेकपामा लागेका हुन्। 

हाल नेपाल कम्युनिष्ट पार्टीबाट प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्यसहित जिल्लाका सातै स्थानीय तहका प्रमुख र उपप्रमखहरुले ओली नेतृत्वको नेकपामा लाग्ने सामूहिक निर्णय लिएका हुन्।

धनकुटाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र राईसहित तीनजना प्रदेश सभा सदस्यहरु पनि ओली नेतृत्वको नेकपामा लागेका हुन्। धनकुटा-१ का प्रदेशसभा सांसद निरन राई, धनकुटा-२ का प्रदेशसभा सांसद इन्द्रमणि पराजुली र समानुपातिक सांसद लीलादेवी राई ओली समूहमा लागेका हुन्।

पालिकाका सबै ओलीतिर 

यसअघिको स्थानीय तह निर्वाचनमा धनकुटाका सबै ३ नगरपालिका र ४ गाउँपालिकामा विजयी तत्कालीन एमालेले ‘क्लिन स्वीप’ गरेको थियो। एमालेले 'क्लिन स्वीप' गरेको जिल्लाका सबै जनप्रतिनिधि ओलीतिर लागेका हुन्। 



जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुवान पनि ओली समूहमै लागेका छन्। त्यसैगरी धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ र उपप्रमुख शकुन्तला बस्नेत पनि ओली समूहमै लागेका छन्। 

पाख्रीबास नगरपालिका प्रमुख बिर्खबहादुर राई र उपप्रमुख देवकला तिम्सिनाले पनि ओली समूहमा लाग्ने निर्णय लिएका छन्।  त्यसैगरी महालक्ष्मी नगरपालिका प्रमुख परशुराम नेपाल र उपप्रमुख मञ्जु अधिकारीले पनि ओली समूह रोजेका छन्। 



उता सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई र रत्नेश्वरी राईले पनि ओली समूह नै रोजेका छन्। चौबिसे गाउँपालिका प्रमुख खजिन्द्र राई र उपप्रमुख यज्ञकुमारी रूचाल पनि ओली समूहमै लागेका छन्।

छथर-जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बू र उपाध्यक्षमा भीमकला श्रेष्ठ पनि ओली समूहमै आएका छन्। उनीहरुसँगै साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याख्या अध्यक्ष र उपाध्यक्ष बिन्द्रा राईले पनि ओली समूह रोजेका छन्। 

उनीहरुले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनतामा जाने निर्णयको स्वागत गरेका छन्। मुलुक र पार्टीलाई गतिहीन बनाएको भन्दै उनीहरुले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति रोष प्रकट गरेका छन्। 

सबै तह 'क्लिन स्वीप'

यसअघिको स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा धनकुटामा एमालेले क्लिन स्वीप गरेको थियो। सातै स्थानीय तहमा माओवादी र कांग्रेसको गठबन्धनलाई हराएको एमालेले प्रदेश र संघीय संसदको निर्वाचनमा पनि त्यही नतिजा निकालेको थियो। 

प्रतिनिधिसभा सदस्यमा एमालेका राजेन्द्र राई विजयी भएका थिए। उनले कांग्रेसको पनि साथ पाएका सूर्यबहादुर थापा पुत्र राप्रपा प्रजातान्त्रिकका सुनीलबहादर थापालाई पराजित गरेका थिए। राईले थापालाई करिब १२ हजार मतले पराजित गरेका थिए। 

एमालेले धनकुटामा २ वटै प्रदेशसभामा जित हात पारेको थियो। धनकुटाको प्रदेश ‘क’ मा एमालेका इन्द्रमणि पराजुली र ‘ख’ मा निरन राई विजयी भएका थिए। पुस ५ गतेको संसद विघटन गर्ने सरकारको कदमपछि उनीहरु सबै दाहाल-नेपालको विरोध गर्दै ओलीतिर लागेका हुन्। 

मन्त्री नबने पनि साथ

धनकुटामा तलदेखि माथिसम्म एमालेलाई जिताएर 'क्लिन स्वीप' गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै राजेन्द्र राई अघिल्लो चुनावको 'म्यान अफ द म्याच' घोषित गरेका थिए। तर उनै राजेन्द्र राईलाई ओलीले अहिलेसम्म मन्त्री बनाएनन्। 

रघुवीर महासेठ र उनकी  पत्नी जुलीसमेत मन्त्री भइसक्दा पनि ओलीले आफैंले 'म्यान अफ द म्याच' घोषित गरेका राजेन्द्रलाई पछिल्लो पटक ११ पुसमा गरिएको मन्त्रिमण्डल विस्तारमा पनि समेटेनन्। 

नेकपा दुई समूहमा विभाजित भएपछि धनकुटाका जनप्रतिनिधि र नेताहरु बालुवाटारमा पुगेर राजेन्द्रलाई मन्त्री नबनाएको बारेमा ओलीलाई सोधेका थिए। तर ओलीले पटक पटक प्रयास गर्दा पनि मन्त्री बनाउन नसकेको भन्दै अबको पालोमा उनलाई नछुटाउने भनेर फकाएका थिए।

भेटमा सहभागी एक नेताका अनुसार ओलीले यो पटक पूर्व माओवादीका धेरै नेतालाई अवसर दिनु परेकाले अन्तिममा आएर राजेन्द्रको नाम काट्न विवश भएको भन्दै आलोचनाबाट जोगिने कोसिस गरेका थिए। 

'यो पटक पूर्व माओवादीबाट हाम्रो समूहमा आउनुभएका सबैलाई अवसर दिनुपर्यो। त्यसकारण राजेन्द्रजीको नाम अन्तिममा काट्नु पर्यो', उनले केही दिनअघि बालुवाटारमा भनेका थिए, 'अब अर्को पालीमा उहाँलाई समेटेर लैजान्छु। मन्त्री बनाउने जिम्मा मलाई छोडिदिनुस्, तपाईंहरुले 'ग्राउन्ड' सम्हालिदिनुस्।'

पार्टी विभाजनको तनावमा ओलीले यसरी राजेन्द्रसहित धनकुटाका नेताहरुलाई फकाएर पठाएका थिए। बालुवाटारमा ओलीलाई भेटेर फर्किएपछि राजेन्द्रकै कसरतमा जिल्लाका सबै जनप्रतिनिधिहरु एकै ठाउँ उभिएका हुन्। 

कुनै बेला पूर्वपञ्च सूर्यबहादुर थापाको पकड रहेको धनकुटामा अहिले राजेन्द्रको नेतृत्वमा पूर्व एमालेहरूले आफ्नो किल्ला बनाएका छन्। तर सांसद राई आफैं भने 'ग्राउन्ड' मा आफूले पकड बनाइरहेकाले प्रधानमन्त्रीले धनकुटालाई मौका दिनुपर्ने कार्यकर्ताको पनि मत रहेको धारणा सुनाउँछन्। 

  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १२:४७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया