भूगोलपार्कमा मूर्ति प्रतिस्थापन गर्न सर्वोच्चले लगायो रोक

सर्वोच्च अदालतले काठमाडौँको भूगोलपार्कमा नेपालमा रातो मत्स्येन्द्रनाथ ल्याउने राजा नरेन्द्र देव, तान्त्रिक बन्धुदत्त आचार्य र ललित ज्यापूको मूर्ति प्रतिस्थापन गर्ने निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले शुक्रबार उक्त स्थापनमा मूर्ति निर्माणका लागि शिलान्यास गर्ने कार्य यही पुस २९ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । 

अदालतले यही पुस २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, कामपा वडा नं २२ को वडा कार्यालय र भूगोलपार्क सुधार समितिलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले भूगोलपार्कमा मूर्ति प्रतिस्थापन गर्दा पाटन तःबहालकै अनुसार बनाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

भूगोलपार्कमा ०७५ साल माघ १२ गतेको निर्णयअनुसार नेपालमा रातो मत्स्येन्द्रनाथ ल्याउने राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य र रथचक्र ललितज्यापूको मूर्ति स्थापना गर्न लागिएको, तर पाटन तःबहालमा स्थापना भएको मूर्तिको ठीकविपरीत मूर्ति बनाउन लागिएको रिट निवेदनमा उल्लेख थियो । 

रिट निवेदनमा तीन महापुरुषको मूर्ति पाटन तःबहालस्थित रातो मत्स्येन्द्रनाथको मन्दिर परिसरमा रहेको सर्वमान्य मूर्तिको स्वरूपमा नै निर्माण गरी भूगोलपार्कमा स्थापना गर्न परमादेशको आदेश माग गरिएको छ ।





  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार २०:३३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया