सुत्केरीलाई उप मेयरको कोसेली : दाल गेडागुडी र स्वास्थ्य सामग्री

बैतडीको पुर्चौंडी नगरपालिकाले सुत्केरीलाई उपमेयरको कोसेली अभियान ल्याएको छ । नेपाल सरकारको प्रोटोकलअनुसार चारपटक स्वास्थ्य संस्थामा गर्भजाँच गराएर स्वास्थ्य संस्थामै बच्चा जन्माएका आमाहरूलाई कोसेली वितरण गर्न सुरु गरिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए । गत वर्षजस्तै यो वर्ष पनि सुत्केरीलाई उपमेयरको कोसेली कार्यक्रमलाई निरन्तरता दिएको उनले बताए ।

ग्रामीण क्षेत्रका नागरिकलाई गर्भवती र सुत्केरी आमाहरूको स्वास्थ्य र पोषणमा ध्यान दिनुपर्छ भन्ने कुराको महसुस गराउन यो कार्यक्रम सञ्चालनमा ल्याएको पुर्चौंडी नगरपालिकाका उपप्रमुख जानकी ऐर बमले बताए ।

उनले भनिन्, ‘अझै पनि हाम्रो समुदायमा गर्भवती र सुत्केरी आमाहरूलाई पोषिलो खानेकुरा दिनुपर्छ भन्ने चेतनाको पूर्ण रूपमा विकास भई नसकेकाले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौं । कम्तीमा घरपरिवारका सदस्यहरूले गर्भवती र सुत्केरी आमाहरूलाई खानपिनमा प्राथमिकतामा राखुन् भन्ने हाम्रो उद्देश्य हो ।’

कोसेलीमा दाल गेडागुडी, डिग्निटी किट र सरसफाईका सामग्री राखिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिए । स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई प्रोत्साहन भत्ता र उपमेयरको कोसेली दिने गरेको उनले बताए ।

नगरपालिकाभित्र रहेका २३ ओटा सुरक्षित प्रसूति सेवा केन्द्रबाट कोसेली वितरण भइरहेको बताइएको छ । नगरपालिकाका १० ओटै वडाका सुरक्षित प्रसूति सेवा केन्द्रमा कोसेली पुगिसकेको पुर्चौंडी नगरपालिकाले जनाएको छ । संस्थागत सुत्केरी बढाउने, मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्यसहित यो कार्यक्रम सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ ।





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १६:४८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया