हाम्रो पात्रोले ल्यायो भिडियो कलको सुविधा

मोबाइल एप हाम्रो पात्रोले अडियो तथा भिडियो कल र म्यासेज गर्न सकिने सुविधा थप गरेको छ । कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताका लागि इन्स्ट्यान्ट म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज सञ्चालनमा ल्याएको हो । 

एप अंग्रेजी तथा नेपाली दुवै भाषामा प्रयोग गर्न सकिनेछ । यससँगै हाम्रो पात्रो नेपाली भाषामा म्यासेजिङ सर्भिस दिने पहिलो एप समेत बनेको छ ।

आइओएस प्रयोगकर्ताले भने यो सुविधा प्रयोग गर्न थप केही समय कुर्नुपर्ने कम्पनीले बताएको छ । हाल आइओएसका लागि आन्तरिक टेस्टिङको काम चलिरहेको भन्दै हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले आउँदो मार्चसम्म लाइभ गर्ने योजना रहेको जानकारी दिए । 

यससँगै भाइबर, ह्वाट्सएप, इमो, म्यासेञ्जर लगायत एपको बीचमा स्वदेशी विकल्प तयार भएको छ । अब हाम्रो पात्रोका प्रयोगकर्ताले आफ्नो मोबाइल साइन अप गरी सहजै हाम्रो म्यासेज प्रयोग गर्न सक्ने बताइएको छ । 

यसमा प्रयोगकर्ताको गोपनीयताका लागि इन्ड टु इन्ड इन्क्रिप्सन फिचर प्रयोग गरिएको छ । यसको अर्थ हाम्रो म्यासेजअन्तर्गत हुने अडियो तथा भिडियो कुराकानी वा च्याटमा सम्बन्धित प्रयोगकर्ता बाहेकको अन्य कसैको पनि पहुँच हुने छैन ।  

हाल यसमा अडियो तथा भिडियो कल गर्न सकिने, च्याट गर्न तथा फोटो र स्टिकरहरु पठाउन सकिने फिचर उपलब्ध छ । हाम्रो म्यासेज सेवा प्रयोग गर्दा अन्य एपको भन्दा डेटा खपत समेत कम हुने कम्पनीको दाबी छ । 



हाम्रो म्यासेज सेवा हाललाई नेपाल सहित भारत, अमेरिका, यूएई, जापान, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, मलेसिया, न्युजिल्याण्ड, कतार, साउदी अरब र यूकेमा प्रयोग गर्न सकिनेछ । अबको दुई तीन सातामा अन्य देशमा रहेका प्रयोगकर्ताका लागि यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

साथै भिडियो कल गर्दा इन्टरनेटको ब्याण्डविथ अनुसार गुणस्तर घटबढ हुने गरी एडप्टिभ बनाइएको छ । गुणस्तरीय तथा फास्ट इन्टरनेट भएको अवस्थामा हाम्रो म्यासेजमा एचडी अर्थात उच्च गुणस्तरमा भिडियो कल गर्न सकिन्छ ।



हाम्रो म्यासेज सेवासँगै हाम्रो पात्रोको इन्टरफेस तथा डिजाइन समेत परिवर्तन गरिएको छ । धेरै सामग्री एकै स्थानमा हुँदा खोज्न गाह्रो भएको प्रयोगकर्ताको गुनासो सम्बोधन गर्न  डिजाइन परिवर्तन गरिएको कम्पनीको भनाइ छ ।

  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १७:४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया