नेकपा विवाद : प्रदेश-१ मा संसदभित्रै झडपको सम्भावना

नेकपा विवाद : प्रदेश-१ मा संसदभित्रै झडपको सम्भावना 

प्रदेश १ मा माघ ७ गतेका लागि डाकिएको प्रदेशसभा बैठकमा नेकपाका दुई पक्षबीच देखिएको विवादले चर्को रुप लिने सम्भावना बढेको छ । राजनीतिक ध्रुवीकरणले सदनमा झडपको सम्भावना देखिएको हो ।

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सम्भावित विवादका बीच प्रदेशसभाको बैठकलाई सुचारु राख्न नेकपाका अलग–अलग समूह र विपक्षी दलसँग छलफल थालेका छन् ।

नेकपाको प्रचण्ड–माधव समूहले आइतबार मात्र मुख्यमन्त्री शेरधन राईसहित प्रदेश सरकारका मन्त्री र सांसदहरूलाई निलम्बन गरिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरेको थियो ।

यसै गरी मुख्यमन्त्री शेरधन राई नेता रहेको संसदीय दलले १६ प्रदेश सांसदलाई निलम्बन गरेको छ । प्रचण्ड-माधव समूहका नेता भीम आचार्य नेतृत्वको संसदीय दलले ८ जनालाई कारबाही गरेको घोषणा गरेको छ ।

नेकपाका एक सांसद्ले भने, ‘एक समूहले अर्कोलाई निलम्बन गर्ने र बैठकमा सहभागी हुन रोक्नेसम्मको प्रयास हुने देखिएको छ । प्रदेश सांसदहरुबीच नै झडपको अवस्था आउने खतरा देखिन्छ ।’ कार्यव्यवस्था परामर्श समितिमा पनि नेकपाको विवादले असर गर्ने देखिएको उनले बताए ।



सभामुख भण्डारीले आफूले सत्तासीन दल र विपक्षीसँग समेत आवश्यक परामर्श थालेको बताएका छन् । उनले भने, ‘संविधान, विधि र कानुनलाई आधार बनाएर मैले बैठकको सहजीकरण गर्ने हो । विवाद हुन नदिन अनि बैठकको कारबाहीलाई सहजरुपमा सञ्चालन गर्न सबैसँग परामर्श र छलफल गरिरहेको छु ।’ सभामुख भण्डारीले सदनको कारबाहीलाई अनुशासित र सहमतिको आधारमा सञ्चालन गर्ने जिम्मेवारी मात्रै आफ्नो भएको सुनाए ।
सभामुख भण्डारीले मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीसँग परामर्श गरिसकेका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आफूहरुसँग औपचारिक र गहन छलफल नभएको बताएका छन् । उनले भने, ‘नेकपामा पार्टीको विवाद देखिएको छ । त्यसले संसद् बैठक सञ्चालनमा आउँदा समस्या आउन सक्छन् तर, एकले अर्कोलाई निषेध गर्न भने हुँदैन ।’ कार्कीले सदनको कारबाहीमा दलबीचको विवादले समस्या भने आउन नहुने तर्क गरे ।



  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १३:२८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया