निर्वाचन सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्। 

वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका बलका अधिकृतहरूलाई मंगलबार गृहमन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन्। 

'स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्', उनले भने, 'त्यसका लागि आवश्यक स्रोतसाधनको कमि भए मन्त्रालयलाई जानकारी गराउनुहोला कुनै कमि हुन दिइनेछैन।'  

 शान्ति सुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले मन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरुप कामकारबाही अघि बढाउन  निर्देशन दिए।  

'फिल्डमा उच्च मनोबलका साथ काम गर्नुहोस्,  तपाईंहरूलाई कुनै चुनौति आए गृहमन्त्रालयबाट सहयोग र संरक्षण हुनेछ', उनले भने।   बढुवा भएका अधिकृतहरुको जिम्मेवारी थपिएको भन्दै गृहमन्त्री थापाले अहिलेसम्मको अनुभवलाई अधिकतम सदुपयोग गर्दै राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे। कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल पनि सहभागी थिए।

सोमबार मात्रै गृहमन्त्री बादल र अर्थमन्त्री विष्णु पौडेलले तीनवटा सुरक्षानिकायका अधिकारीहरूसँग छलफल गरेर निर्वाचनको तयारी थाल्न आग्रह गरेका थिए। 





  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार १३:३०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया