ओझेलका गीत टिकटकबाट हिट
पुरानै गीतले तान्दै छ श्रोता–दर्शक

सर्जक स्वयंको स्मृतिबाट हराउँदै गरेको एउटा गीत– फूलबुट्टे सारी । सर्जक राजनराज शिवाकोटीलाई लाग्थ्यो, ‘करिब १२ वर्षअघि रेकर्ड भएर बजार नपाएको यो गीतको आयु त्यही समय सकियो ।’

‘१२ वर्षपछि खोला फर्किन्छ’ भन्ने उखान उनको यही गीतमा चरितार्थ भयो । टिकटकले उनको स्मृतिले भुल्नै लागेको यो गीतको सम्झना गरायो । राजनराजको मस्तिष्कबाट हराउन लागेको यो गीतका बारेमा साङ्गीतिक करिअरबाट लगभग विश्राम लिएका गायक मार्मिक लामालाई झनै वास्ता थिएन । तर, एकाएक टिकटकबाट चर्चामा आएपछि राजनराजले गीतका गायक मार्मिकलाई खोजी गरे ।

गीत पुनः रेकर्ड भयो । रि–अरेन्जमेन्ट भएर बजारमा आएको गीतमा मार्मिकसँगै गायिका मिलन नेवारले गायनमा साथ दिइन् । अहिले यो गीत बजार, होटल, रेस्टुराँ, पसल तथा बसमा निक्कै सुनिन्छ ।

गायिका बिमाकुमारी दुरा र गायक प्रवीण गुरुङले वर्षौं अघि गाएको गीत ‘यो दाजुको मिर्मिरे आँखा’ पनि स्रोताले बिर्सनै लागेका थिए । टिकटक नेपालमा लोकप्रिय भएसँगै पुनः चर्चामा आयो । गीत चर्चामा आएसँगै बिमाकुमारी दुरा प्रवीण गुरुङलाई पुराना पुस्ताले सम्झिए । तर, कभरमा भने चेतन मगर र निरु श्रीस मगरले कभर गरेको गीत हिट भएको थियो ।

गायक रामकृष्ण ढकालले चलचित्र आशीर्वादका लागि गाएको पुरानो गीत ‘रमाइलो घमाइलो कोसी तिरैमा’ पनि नयाँ पुस्ताले याद गरेका थिएनन् । उनको यो गीतलाई पनि टिकटकले चर्चामा ल्याइदियो ।

यो गीत टिकटकमा हिट हुँदै गर्दा गायक ढकालले राम्रा-राम्रा अरू गीत गरिरहेका थिए । यो समयमा गाइएका ती धेरै नयाँ गीतभन्दा पुरानो यो गीतले पुनः चर्चा पायो । अरू पनि थुप्रै पुराना र आफैंले बिर्सन लागेका गीत टिकटकले पुनः स्मृतिमा ल्याइदिएको गायक ढकालले बताए ।



टिकटकमा पुराना गीत चर्चामा आउनुलाई मानिसहरूको नयाँपनको खोज भएको गायक हेमन्त शर्मा बताउँछन् । उनी भन्छन्, ‘टिकटकमा चर्चामा आएका धेरै प्रयोगकर्ता पछिल्लो पुस्ताका छन् । उनीहरूले यो समयका गीतसंगीत देखिरहेका छन् । सुनिरहेका छन् । अहिलेको पुस्ता नयाँ कुरामा रमाउँछन् । पुराना गीतसंगीत उनीहरूका लागि नयाँ बनिदिन्छन् ।’

एक समय चर्चामा आइसकेका गीतमा टिकटक बनाउँदा छिट्टै क्लिक हुने भएकाले पनि टिकटक प्रयोगकर्ताले पुराना गीत खोजिगरेको हुनसक्ने गायक रामकृष्ण ढकालको धारणा छ ।



उनी भन्छन्, ‘एक त पुराना गीत धेरैको मन मुटुमा बसिसकेका हुन्छन् । अर्को सुनेका गीत गाउँदा छिट्टै अरूले नोटिस गर्छन् । टिकटक प्रयोगकर्ताहरूलाई पनि जसरी हुन्छ छोटो समयमै भाइरल हुनु छ । पुराना गीत टिकटकमा सुनेपछि रिकल्ड हुन्छन् । त्यसपछि स्रष्टा आफैंले आफ्ना पुराना सिर्जनाको खोजी गर्न थाल्छन् । खोजी गर्ने क्रममा ती गीत/संगीतलाई रि–अरेन्जमेन्ट गर्ने प्रचलन बढेको छ ।’

पुराना गीत/संगीत सरल हुने भएर पनि धेरै टिकटक प्रयोगकर्ताको रोजाइमा पर्ने गरेको संगीतकार सन्तोष श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘नयाँ–नयाँ प्रविधिमा पुराना गीत खोजिनु, रि–अरेन्जमेन्ट गरेर पुनः बजारमा आउँदा पनि उत्तिकै लोकप्रिय हुनुले हाम्रा पुराना सिर्जना कालजयी छन् भन्ने बुझाउँछ ।’

टिकटकको लोकप्रियता क्षणिक

पछिल्लो समय एउटा गीत हिट हुन टिकटकमा भाइरल हुनु पर्छ । टिकटकमा गीतका केही टुक्का हिट भएपछि बल्ल युट्युबमा गीत खोज्ने चलन बढेको छ । तर, टिकटकको लोकप्रियता क्षणिक भएको टिकटक मार्फत् गीत हिट भएका सर्जक नै बताउँछन् ।

संगीतकार वसन्त सापकोटा टिकटकको लोकप्रियता खहरेको भेलजस्तै भएको बताउँदै भन्छन्, ‘टिकटकमा हिट भएका भनिएका थोरै गीत मात्रै कालान्तरमा श्रोता दर्शकले खोजेका छन् । धेरै त आएको र गएको नै थाहा हुँदैन ।’ टिकटकमा मात्रै हिट भएका गीतलाई आफ्नो प्रोपर्टी सम्झिएने भुल स्रष्टा तथा लगानीकर्ताले गर्न नहुने भन्दै सापकोटाले भने, ‘टिकटकमा जत्तिकै अन्य प्लेटफममा पनि खोजियो, सुनियो भने चाहिँ त्यो गीत तत्कालका लागि हिट हो । फेरि सिर्जनाको लोकप्रियताको पाटो फरक हो ।

हामीले बिर्सिन लागेका पुराना गीत/संगीत अहिले जसरी टिकटकमार्फत् पुनः चर्चामा आइरहेका छन्, ती गीत वास्तवमै लोकप्रिय थिए ।’

टिकटकमा धेरै हिट हुने संगीतमध्ये संगीतकार अर्जुन पोख्रेल पनि पर्छन् । अर्जुन आफैं टिकटकको लोकप्रियता दिगो नभएको उल्लेख गर्छन् । अर्जुन भन्छन्, ‘टिकटकको लोकप्रियता खहरेको भेल जस्तै हो । कतिबेला उर्लिन्छ, कतिबेला सुक्छ थाहै हुँदैन ।’ तर, टिकटकमा जसरी पुराना गीत पुनः चर्चामा आइरहेका छन् यसमा भने अर्जुन खुसी छन् ।

भन्छन्, ‘हामीलाई पनि यस्तै कालजयी गीत गर्नुपर्छ भन्ने पाठ सिकाएका छन् ।’ तर, अहिलेका धेरैजसो गीत भने दोहोरो अर्थ लाग्ने खालका शब्द राखेपछि मात्रै टिकटकमा हिट भएको बताउँदै त्यसलाई लोकप्रिय भन्न नमिल्ने अर्जुनले बताए । तर, टिकटकमा पनि राम्रा गीत फिल्टर हुँदै जाने अर्जुनको धारणा छ ।

कभर सङमा पुरानै गीतको वर्चस्व

पुराना गीत नयाँ शैलीका कभर सङका रूपमा निक्कै लोकप्रिय भइरहेका छन् । पछिल्लो समय रमेश प्रसाईंले सुरेश गन्धर्वको पुरानो गीत ‘रिङ्के बुङ्को राँगालाई’ बोलको गीत रेकर्ड गराए । बानेश्वरकी प्रकृति गौतमलाई निक्कै मन पर्यो ।

उनले रमेश यस गीतका ओरजिनल स्रष्टा सम्झिएको बताउँदै भनिन्, ‘यो गीत मैले पहिले सुनेकै थिइनँ । पछि म्युजिक भिडियो हेर्ने क्रममा गुगल सर्च गर्दा मात्रै गीतका मुख्य स्रष्टाका बारेमा आफूले थाहा पाएँ ।’

यो त एउटा उदाहरण मात्रै भएको संगीतकार सुरेश अधिकारीले बताए । उनी भन्छन्, ‘पछिल्लो पुस्ता जुन हुर्किने बेला म्युजिक भिडियोको जमाना सुरु भइसकेको थियो ।

प्रविधिका कारण यी र यस्ता रेडियोमा रेकर्ड भएका गीत यतिबेला फेजआउट जस्तै भएका थिए । अहिले नयाँ–नयाँ कलाकारले पुनः रेकर्ड गराएर अथवा कभर सङका रूपमा बाहिर आउँदा नयाँ पुस्ताले पनि उत्तिकै मन पराएका छन् । यो राम्रा गीत/संगीत भएको खण्डमा आयु सकिँदैन भन्ने एउटा उदाहरण पनि हो ।’

कभर सङको प्रचलन बढेसँगै नयाँ पुस्ताले पुराना गीत खोजी-खोजी सुन्न र गाउन थालेको छन् । पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा रहेका धेरै गायक गायिकाले आफ्नो करिअरको सुरुवात नै कभर सङबाट भएको छ ।

अहिले चर्चाको केन्द्रमा रहेकी एलिना चौहानदेखि स्वप्न सुमनसम्मका गायक/गायिका कभर सङमार्फत् सांगीतिक क्षेत्रमा देखा परेका हुन् । नयाँ स्रष्टाले पुराना गीतको मात्रै नभएर स्रष्टा स्वयंले  पनि आफ्ना पुराना गीतको कभर गर्ने प्रचलन पनि बढेको छ। उनीहरूका पनि ओरजिनल गीतभन्दा कभर गीत झन् धेरै हिट भएका छन् । युट्युब ट्रेन्डिङमा पनि थुप्रै कभर सङ देख्न सकिन्छ ।

धेरैले आफ्नो सोखका रूपमा सुरु गरेको कभर सङ पछिल्लो समय व्यावसायिक रुपमै विकसित भएको गायक धिरज राईले बताए । उनी आफैंले पनि आफ्नै गीतको कभर गर्दा पहिलाको भन्दा धेरै भ्युज पाएको उल्लेख गर्दै भने, ‘पहिले लोकप्रिय बनेको गीतको कभर गर्दा नयाँ पुस्तासँग पनि जोडिने रहेछ । यसैले पनि कभर सङमा लागि कलाकारले प्रशस्त खर्च गर्न थालेका छन् ।’

कभर सङले गर्दा क्षमतावान लुकेका प्रतिभालाई बाहिर ल्याउन सहयोग गरेको संगीतकार अर्जुन पोख्रेल बताउँछन् । कभर सङमार्फत् सांगीतिक क्षेत्रमा आएर व्यस्त बनेकी गायिका एलिना चौहान पनि यो कुरालाई स्वीकार गर्छिन् ।

उनी भन्छिन्, ‘आफूसँग गीत निकाल्ने स्रोत छैन । तर, क्षमता छ भने आफ्नो क्षमता प्रस्तुत गर्ने राम्रो प्लेटफर्म हो कभर सङ । अलि पहिला नै आएको युट्युब छ । पछिल्लो समय लोकप्रिय बनेको टिकटक छ । हामीले घरमै बसेर आफ्नो क्षमता विश्वमा रहेका मानिसलाई देखाउन पाएका छौँ ।’

धेरैलाई कभर सङ गाउँदा मिहिनेत नपर्ने बुझाइ रहेको उल्लेख गर्दै एलिना भन्छिन्, ‘नयाँ गीत गाउनु र कभर सङ गाउनुमा खासै फरक छैन । तर, यही क्षेत्रमा करिअर बनाउने सपना देख्नेहरूले भने नयाँ गीत गाउँनै पर्छ ।’

तर, कभर सङले गर्दा पुराना स्रष्टा ओझेलमा पर्ने उत्तिकै सम्भावना रहेको गीतकार राजेन्द्र थापा बताउँछन् । उनी भन्छन्, ‘अझ हामी कहाँ कतिपय अवस्थामा मूल स्रष्टालाई क्रेडिट दिने प्रचलन पनि छैन । जसले गर्दा कभर गाउने नै गीतको मूल स्रष्टा होला भन्ने धेरैलाई लाग्छ । पुराना गीतको कभर गर्नु नराम्रो होइन । तर, मूल स्रष्टालाई क्रेडिट दिन र अनुमति दिन भने भुल्नु हुँदैन ।’

  • प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार २०:१३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया