कर्णालीका ७९ वटै स्थानीय तहमा कांग्रेसको विरोध प्रदर्शन

संसद विघटनको विरोधमा कांग्रेसले कर्णालीका ७९ वटै स्थानीय तहमा प्रदर्शन गरेको छ । ‘ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्ध होऔँ’ भन्ने मूल नाराका साथ कांग्रेसले विरोध प्रदर्शन गरेको हो । देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिकासहित कर्णालीका अन्य पालिकामा पनि प्रदर्शन गरिएको हो ।

वीरेन्द्रनगरको प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताले ओली सरकारको चर्को विरोध गरेका थिए । वीरेन्द्रनगरस्थित मंगलगढी चोकबाट सुरु भएको विरोध र्याली बिचबजार पिपल चौतारामा पुगेर सभामा परिणत भएको थियो । 

सभालाई सम्बोधन गर्दै कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री शिवराज जोशीले कांग्रेस लोकतन्त्र, कानुनी शासन र संविधानमा चासो दिने दल भएको बताए । ‘हामी लोकतन्त्रलाई बलियो बनाउन चाहन्छौँ । कानुनी शासनप्रति विश्वास राख्छौँ,’ उनले भने, ‘सरकारले गरेको असंवैधानिक कदमविरुद्ध हामी आन्दोलित छौँ ।’ 

कार्यक्रममा नेपाली कांग्रेस वीरेन्द्रनगरका सभापति एवं वीरेन्द्र नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले नेकपाको आन्तरिक लडाइँले संविधानको गला रेटिएको आरोप लगाए ।

नेकपाको झण्डै दुईतिहाइको सरकारको नेतृत्वले आमनेपालीलाई धोका दिएको उनले बताए । ‘पदका लागि आपसमा भागबन्डा नमिल्दा लोकतन्त्र धरापमा परेको छ । संविधानको गला रेटिएको छ,’ उनले भने, ‘नेकपालाई प्रतिनिधिसभा पाँच वर्ष चलाउन कसले रोक्यो ? विदेशीले वा आमजनताले ? होइन । यसको भागिदार ओली, प्रचण्ड र नेपाल नै हुन् । यसको हिसाब माग्न जरुरी छ । उत्तर खोज्न जरुरी छ ।’ 





  • प्रकाशित मिति : माघ ३, २०७७ शनिबार १७:४२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया