अन्य नेपाली खेलाडीका लागि उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरिरहेको छु : किरण चेम्जोङ

नेपाली राष्ट्रिय टिमका पहिलो रोजाइका गोलरक्षक किरण चेम्जोङ यति बेला भारतीय आई लिग खेलिरहेका छन् । ३० वर्षीय चेम्जोङ लिगमा राउन्ड ग्लास पञ्जाबका लागि पनि पहिलो रोजाइका गोलरक्षक हुन् ।

सन् २०१७–१८ को सिजनमा पहिलोपटक पञ्जाबका लागि खेलेका उनले डेब्यु सिजनमा नै उपाधि जितेका थिए । किरणले गत सिजन पनि पञ्जाबकै लागि खेलेका थिए । यो उनको आई लिगमा तेस्रो सिजन हो । 

किरणले आई लिगको वेबसाइटसँगको कुराकानीका क्रममा आई लिग दक्षिण एसियाकै उत्कृष्ट लिग भएको बताएका छन् ।

‘दक्षिण एसियाका अन्य लिगभन्दा भारतीय लिग निकै उत्कृष्ट छ र त्यहाँ अन्यभन्दा धेरै एक्पोजर पनि मिल्छ । आई लिग क्लबले प्रस्ताव गर्ने भनेको अर्कै स्तरमा खेल्नु जस्तै हो र म मेरो टिमका लागि उत्कृष्ट प्रदर्शन गर्न यहाँ छु । अहिलेसम्म राम्रो अनुभव भएको छ’, किरणले भने ।

पञ्जाबले लिगमा उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो खेलमा एइजवल फुटबल क्लबलाई १–० ले हराउँदा किरणले क्लिनसिट राखे । दोस्रो खेलमा किरणले उत्कृष्ट प्रदर्शन गरे पनि टोलीले पराजय बेहोर्‍यो । पञ्जाब गोकुलम केरलासँग ४–३ ले पराजित भएको थियो । यो खेल किरणको कप्तानीमा भएको थियो ।

किरणले आई लिगमा निकै प्रतिस्पर्धा भएकाले टिमले आगामी खेलमा सुधार गर्नुपर्ने बताए । 



‘हामीलाई लिग सुरु हुनुभन्दा अगाडि नै थाहा थियो, लिगमा निकै प्रतिस्पर्धा छ । यहाँ प्रत्येक खेल एक कडा लडाइँ हो । हामीले पहिलो खेलमा जित निकाल्दै राम्रो सुरुवात गर्न सफल भयौं तर दुर्भाग्य दोस्रो खेलमा अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यौं । यो खेलको सामान्य नियम हो’, किरणले भने ।

‘उपाधि जित्नु मेरा लागि ठूलो कुरा हो र यो मेरो करियरको सबैभन्दा ठूलो उपलब्धि हो । यसले मलाई निकै आत्मविश्वास प्रदान ग¥यो र भविष्यमा पनि प्रेरित गर्नेछ । लिगका प्रत्येक खेल निकै प्रतिस्पर्धात्मक छन् । म यहाँ आफ्नो टिमलाई विजेता बन्न सहयोग गर्न आएको हुँ, किरणले थपे ।



आई लिगमा ६–७ नेपाली खेलाडी हेर्ने इच्छा

धेरै अनुभवी गोलरक्षक किरण आई लिगमा नेपालको प्रतिनिधित्व गर्ने एक मात्र खेलाडी हुन् । विगतमा केही नेपाली खेलाडीले भारतमा निकै प्रभावशाली प्रदर्शन गरेका थिए । अभिषेक रिजालले आई लिगको छनोट र सावित्रा भण्डारी र अनिता बस्नेतले महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

किरण आगामी वर्षमा धेरैभन्दा धेरै नेपाली खेलाडीले भारतमा खेलेको हेर्न चाहन्छन् । आफ्नो प्रदर्शनले अन्य नेपाली खेलाडीका लागि आई लिग खेल्न ढोका खोल्न सक्ने विश्वास किरणले लिएका छन् ।

‘म हरेक वर्ष र प्रत्येक खेलमा आफ्नो उत्कृष्ट प्रदर्शनका लागि सक्दो प्रयास गर्नेछु र मेरो देशका अन्य खेलाडीका लागि ढोका खोल्ने प्रयासमा हुनेछु’, किरणले बताए ।

उनले नेपाली समर्थकले नियमित रूपमा आफ्नो प्रगतिका बारेका चासो राख्ने र खेलअघि शुभकामना पठाउने गरेको बताए । ‘राष्ट्रिय टोलीको कप्तान हुनु र देशको प्रतिनिधित्व गर्दै खेल्न पाउनु निकै गर्वको कुरा हो । नेपालका धेरै समर्थकले सधैं म्यासेज गरेर मलाई शुभकामना तथा सन्देश पठाउनु हुन्छ उहाँहरूले सधैं प्रेरित गर्नुहुन्छ र उहाँहरूकै कारणले म आज यहाँ छु’, यसो भन्दै गर्दा किरण हल्का मुस्कुराए ।

पञ्जाबका लागि अर्का महत्त्वपूर्ण खेलाडी भुटानी राष्ट्रिय टिमका कप्तान तथा विंगर चेन्चो ग्याल्त्सेन हुन् । उनले सन् २०१७–१८ को सिजनमा टिमले उपाधि जित्दा किरणसँगै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

छिमेकी देशका खेलाडीसँग खेल्दा र उनीहरूले खेलेको हेर्दा निकै आनन्द आउँछ । म दक्षिण एसियाली क्षेत्रबाट धेरैभन्दा धेरै खेलाडी आई लिग खेलेको हेर्न चाहन्छु । अहिले हामी तीन जना मात्र छौं तर मलाई आशा छ आगामी वर्ष यो संख्या पक्कै बढ्नेछ, किरणले भने ।

‘ग्याल्त्सेन र म अहिले दाजु–भाइ जस्तै भएका छौं । मैत्रीपूर्ण खेलका दौरान पहिलोपटक हामीले एक अर्कालाई भेटेका थियौं । हामी त्यतिबेलादेखि निरन्तर सम्पर्कमा छौं र निकै घनिष्ठ मित्र बनेका छौं । म भारतीय खेलाडीसँग पनि बेल्छु । धेरै भारतीय खेलाडी मेरा राम्रा साथी पनि बनेका छन् । हामी लगातार सम्पर्कमा छौं’, किरण थपे ।

(यो सामग्री आई लिगको आधिकारिक वेवसाइट आई लिग डट ओराजीबाट साभार गरिएको हो ।)

  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १४:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया