काठमाडौं : करिब तीन महिनादेखि हराएको भनिएका चिनियाँ खर्बपति ज्याक मा युन पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन्। विश्वचर्चित अलिबाबा कम्पनीका संस्थापक ज्याक सार्वजनिक कार्यक्रममा देखिएसँगै उनीबारे भइरहेका अनेक अड्कलबाजी मिथ्या सावित भएका छन्।
सन् २०१९ अक्टोबरदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका उनी आफ्नो च्यारिटी फाउन्डेशनको एक अभियानका लागि भएको कार्यक्रममा सार्वजनिक भएका हुन्। उनले भिडियो कन्फरेन्स मार्फत चीनको ग्रामिण क्षेत्रका स्कुलमा काम गरिरहेका शिक्षकहरुसँग कुराकानी गरेका बिबिसीले जनाएको छ।
उनले आफ्नो व्यवसायिक जीवनअगाडि स्कुलमा पढाएका थिए। उनी अंग्रेजी भाषाका शिक्षक थिए। ज्याक मा सार्वजनिक कार्यक्रममा भाग लिएको भिडियो चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ।
ग्लोबल टाइम्सले भिडियो सेयर गर्दै लेखेको छ, ‘हालै वित्तिय नियामकले अलिबाबा कम्पनीको विषयमा अनुसन्धान सुरु गरेका थिए, तत्पश्चात् पहिलोपटक अलिबाबा मिडियामा देखिएका छन्।’आम मानिस र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनी हराइरहेका भन्दै समाचार लेखेका थिए।
ज्याक माले चीन सरकारको एउटा नीतिलाई लिएर आलोचना गरेका थिए। त्यही आलोचनाकै आधारमा उनलाई गायब बनाइएको हुन सक्ने भन्दै सी जिन पिङ नेतृत्वको सरकारमाथि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रश्न उठाएका थिए।
रिपोर्ट अनुसार ज्याक माले अक्टोबरमा दिएको एक भाषण चीनमा निकै विवादित भएको थियो । त्यहाँको वित्तीय नियामकहरुले ल्याएका संशोधनको विषयमा ज्याक माले आलोचना गरेका थिए ।
यही आलोचनाका कारण उनको चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि विवाद भएको बताइएको छ । यही विवादपछि उनी तीन महिना देखि कुनै सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।