नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता थापाले नेकपाको शासन गर्ने वैधानिकता र वैधता सकिएको बताए ।
नेकपाले निर्वाचनबाट प्राप्त जनादेश गुमाएको उनको भनाइ छ । जनादेश गुमाउँदा राजनीतिक निष्ठाका आधारमा जनतासँग क्षमा माग्नुपर्ने भए पनि दुवै पक्षले क्षमा नमागेको उनले बताए । नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधानअनुरुप सही फैसला आउने विश्वास व्यक्त गरे ।
त्यसैगरी, कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले संसद विघटन गरेको बताए । कम्युनिस्टको अधिनायकवादी र सर्वसत्तावादी चेतनाको कारण संसद विघटन भएको उनको भनाइ छ । यसको सम्पूर्ण अपजस नेकपाले बोक्नुपर्ने उनले बताए ।
नेता लेखकले नेपाली कांग्रेसले संसद पुनर्स्थापनाको निम्ति भूमिका निर्वाह गर्ने, तर सर्वोच्च अदालतले संसद पुनस्र्थापना नगरे निर्वाचनमा सहभागी हुने बताए । पुनस्र्थापना पनि नहुने र निर्वाचन पनि नहुने अवस्थामा नेपाली कांग्रेस आन्दोलनमार्फत संविधानलाई ट्रयाकमा ल्याउन तयार रहेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।