‘निजीक्षेत्रको सहयोगबिना भन्सार प्रणाली सुधार हुँदैन’

भन्सार चुहावट रोक्न निजीक्षेत्रले सहयोग गर्नुपर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ छ ।  ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी अर्थमन्त्री पौडेलले न्यून विजकीकरण र चुहावट न्यूनीकरणका लागि निजीक्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताए । 

निजीक्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले समाधान गर्नुपर्ने पनि उनको भनाइ थियो । निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै उनले दुईमध्ये एक नहुँदा भन्सार प्रणाली नै नरहने चर्चा गरे । 

भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया अगाडि बढाउँदै प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा  अर्थमन्त्री पौडेलले जोड दिए ।  

भन्सार विभागले आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कुनै पनि वस्तुको भन्सार मूल्याङ्कन र वर्गीकरणको समस्या छिटो समाधान हुनुपर्ने माग गरे । 

यस्तै, तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा दुई तहको फरक हुने व्यवस्था गनुपर्ने मागसमेत उनको थियो । साथै, भन्सार प्रणालीलाई सुधार गर्न पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिनसमेत उनले आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार संगठनको सिद्धान्तअनुसार भन्सार प्रशासनले वस्तुको कारोबार मूल्यलाई परिवर्तन गर्न नपाउने बताए । त्यसैले कारोबार मूल्यमा नै भन्सार पास गर्ने व्यवस्था मिलाउनुपर्ने समेत उनको माग थियो ।



भन्सार प्रशासनले व्यवसायीलाई विश्वास गर्न नसक्दा वस्तुको मूल्याङ्कन र वर्गीकरणमा समस्या हुने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । यस्तै भ्याट, आयकरलगायतका दर घटाउनसमेत उनले माग गरे । 



  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १४:८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया